राजनीतिको आडमा अपराध, युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्या - newsallabc.com

Breaking

Saturday, March 4, 2017

राजनीतिको आडमा अपराध, युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्या

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् । तर, मुख्य योजनाकार र सुटरसहित पाँचजना अझै फरार छन् । तिवारीको ४ पुस दिउँसै गोली हानी हत्या गरिएको थियो ।
मनोज पुन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । हत्याको केही समयपछि नै मनोजले केही स्थानीयलाई फोन गरेर हत्याको जिम्मेवारी लिएको बताइएको छ । मनोजले प्रतिशोधका कारण दुर्गा तिवारीको हत्या गरेको रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले बताए । तर, कुन कुराको प्रतिशोध भन्ने उनले खुलाएनन् ।
गत आइतबार प्रहरीले जारी गरेको विज्ञप्तिमा रुपन्देहीमा मनोजको आंतक अझै पनि कायम रहेको उल्लेख छ । तर, कस्तो आतंक भन्नेबारे प्रहरीले थप स्पष्ट पारेको छैन । ‘त्यसबारे पछि कुरा गराैँला,’ प्रहरी उपरीक्षक धानुकले भने । मनोजको सञ्जालबारे पनि प्रहरीले थप स्पष्ट पारेको छैन ।
अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको भन्दै सहयोग गर्ने सबैमा जिल्ला प्रहरी कार्यालयले धन्यवादसमेत दिएको छ । तर, प्रहरीले अझै धेरै प्रश्नको उत्तर दिएको छैन ।
यसरी भएको थियो हत्यागत ४ पुस दिउँसो साढे तीन बजे रुपन्देहीको देवदह–७ का ४० वर्षीय दुर्गाप्रसाद तिवारी लु.२५प ८४४१ नम्बरको मोटरसाइकलमा कोलिया मार्ग हुँदै देवदह नगरपालिका कार्यालयतर्फ गइरहेका थिए । उनका पछाडि खुसी न्यौपाने थिए । उनलाई रातो रंगको पल्सरमा रहेका दुईजनाले पछ्याइरहेका थिए ।
देवदह–८ कोलिया मार्ग सडकमा पुगेपछि अचानक गोली चल्यो । मोटरसाइकल चलाइरहेका तिवारीलाई गोली लागेको थियो । उनी भुइँमा ढले । तिवारी गम्भीर घाइते थिए । तर, न्यौपानेलाई भने गोली लागेको थिएन । तिवारीलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेज लगियो । तर, उनको उपचारकै क्रममा मृत्यु भयो ।
तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले तिलोत्तमा–१४ स्थित रोहणीपुलमा रातो रंगको बा.५१प ८०७३ नम्बरको मोटरसाइकल बरामद गर्‍यो । सोही दिन देवदहस्थित विभिन्न व्यक्तिको मोबाइलमा फोन आयो । फोन गर्नेको नम्बर भने आउँदैनथ्यो । फोन गर्ने व्यक्तिले आफू मनोज पुन भएको र आफूले नै दुर्गा तिवारीको हत्या गरेको दाबी गरेका थिए  ।
हुन्डीमार्फत अझै रकम असुल्दै मनोजको गिरोहदुर्गा तिवारीको हत्यापछि घटनाको जिम्मा लिएका मनोज पुनले विभिन्न व्यक्तिबाट रकम असुल्दै आएको निष्कर्षमा प्रहरी पुगेको छ । तिवारीको हत्या हुनुअगावै रकम असुलीमा संलग्न मनोजको गिरोहले तिवारी हत्यापछि पनि सो काम नछाडेको बताइएको छ । हत्यापछि विभिन्न व्यक्तिलाई फोन गरी मोटो रकम माग गरेको र नदिए तिवारीकै हालत बनाउने धम्की दिएको प्रहरीको निष्कर्ष छ ।
आफ्ना संगठनका अधिकांश सदस्य पक्राउ परिसकेपछि मनोजले रकम असुलीको शैली परिवर्तन गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।  उनले एक व्यापारीमार्फत अर्को व्यापारीसम्म रकम पुर्‍याउन लगाई व्यापारीकै हातबाट हुन्डीमार्फत असुली गर्ने तरिका अपनाएको प्रहरीले जनाएको छ ।
मनोजको समूहका अधिकांश सदस्य पक्राउ परिसके पनि त्रास कायम रहेको प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयले केही दिनअघि गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मनोजले प्रविधिको फाइदा उठाई धम्क्याउन सक्ने अवस्था विद्यमान रहेकोमा सोबाट त्रसित बनी रकम नदिन हुन अनुरोध गर्दछौँ ।’
दुर्गा–मनोज यसकारण दुस्मनीएमालेमा डन र अपराधलाई संरक्षण गर्न हुन्न भन्ने पक्षमा युवा संघका सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल र दुर्गा तिवारीलगायत थिए । उनीहरूकै सक्रियतामा ०६९ सालमा मनोज पुनलाई कारबाही गरी निष्कासन गरिएको थियो । त्यसपछि उनले दुर्गासँग दुस्मनी साँधेका थिए ।
डन बन्ने र पैसा कमाएर मन्त्री बन्नेसम्मको सपना बोकेका पुनले तिवारीलाई तगारो ठानेका थिए । दुस्मनीको अर्को कारण मनोज पुनका साथीहरूलाई नै प्रयोग गरी उनको तस्करी धन्दालाई युवाहरूको प्रतिरोधबाट नियन्त्रण गर्न दुर्गा तिवारी सक्रिय थिए । तिवारी ०७० सालपछि क्रमशः युवा संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष बने । केबिआई इँटा उद्योग खोलेर सफल व्यवसायीसमेत बने ।
उनले युवालाई समेट्दै रचनात्मक काममा समेत अगाडि बढाएको कुरा मनोज पुनलाई चित्त बुझेको थिएन । यसैकारण देवदह क्षेत्रमा तिवारीको लोकप्रियता आपराधिक मनोवृत्तिमा रहनेलाई तगारो नै थियो । तिवारीको सफायापछि अरू उद्यमीलाई धम्क्याएर पैसा असुल्न सफल भइने र आफ्नो राज चलाउन पाइने उद्देश्यले हत्या गरिएको जानकारहरू बताउँछन् । 

रवीन्द्र धानुक, एसपी, रुपन्देही

सुटर पक्राउ परेपछि धेरै कुरा खुल्छमुख्य अभियुक्तचाहिँ पक्राउ परेका छैनन् । सहयोगीलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ । के कारणले पक्राउ गर्न सक्नुभएन ?
म आएदेखि रुपन्देही प्रहरीले सबै घटनाको सफल अनुसन्धान गरेको छ । दुर्गा तिवारी हत्यामा संलग्न सबै अपराधीको पहिचान भइसकेको छ । पक्राउ परेकालाई मुद्दा चलाएका छौँ । फरार अभियुक्तको तीव्र खोजतलास जारी राखेका छाैँ । प्रहरीले उनीहरूलाई जसरी पनि पक्राउ गर्छ । अपराधीहरू जुनै शक्तिको आडमा भए पनि हामी नियन्त्रणमा लिन्छाैँ ।
प्रहरीले सुटर राजु मात्र भन्दै आएको छ । प्रहरीले किन राजुको विषयमा बोलेको छैन ?प्रहरीले घटनाको सबै पाटोबाट अनुसन्धान गरेको छ । सुटरबारे पनि जानकारी छ । राजु भनेर प्रहरीले भनेको छ । राजुलाई पक्राउ गर्दा अन्य घटनाका विषय पनि जोडिएको हुन सक्ने भएकाले हामीले उसलाई बढी गम्भीरतासाथ लिएका छौँ । उसको खोजी कार्यलाई तीव्रता दिएका छौँ ।
सुटरको नाम सार्वजनिक नगर्दा प्रहरी अनुसन्धानमै आशंका उब्जिएको छ नि ?हामीले हाम्रो निष्कर्ष भनिसकेका छौँ । यो नितान्त व्यक्तिगत रिसइबी हो । मनोज पुन कठोर प्रकृतिको डन हो । ‘यसलाई हामीले पैसा नदिए मारिहाल्छ’ भन्ने समाजमा भ्रम छर्नका लागि गराएको अपराध हो यो । यसबाट कोही पनि डराउनुपर्दैन । मनोज पुन अरूलाई प्रयोग गरेर अपराध गराउँदै आएको व्यक्ति हो । उनीहरूलाई प्रहरीले पक्राउ गर्ने र पक्राउ नपरेकाको पहिचान गर्ने काम भएको छ । उनीहरू छिटै पक्राउ पर्छन् ।
रुपन्देहीमा अन्य व्यवसायीमाथि पनि गोली प्रहार गर्ने, धम्क्याउने काम भइरहेका छन् नि ?रुपन्देहीमा प्रदेश नं. ५ को आन्दोलन चलिरहँदा घटनालाई अन्त मोड्ने गरी गोली प्रहार र लुटपाटका घटना भए । ती घटनामा संलग्नलाई हामीले पहिचान गरी अधिकांशलाई पक्राउ पनि गरिसकेका छौँ । अहिले रुपन्देही शान्त छ । ढुक्कसँग आ–आफ्नो काम गर्नुहोस् ।
यी हुन् हत्याका योजनाकार, तर सबै फरार१. देवदह–६ का २९ वर्षीय मनोज पुन हत्याको मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ ।
२. सिद्धार्थ नगरपालिका–१३ का ४० वर्षीय विकास भन्ने सोमबहादुर आले पनि योजनाकार रहेको प्रहरीको भनाइ छ ।
३. बाराको गढीमाई–१ का ३० वर्षीय श्याम गुरुङ पनि योजनाकार भएको प्रहरी भनाइ छ ।
४. हत्याका सुटर राजु भएको प्रहरीको भनाइ छ । तर, उनको थर र ठेगाना खुलाइएको छैन ।
५. देवदहका बाबु भन्ने तुलबहादुर सिँजालीले हातहतियार तथा गोली राख्ने र सुटरलाई दिने भूमिका निर्वाह गरेको प्रहरीको भनाइ छ ।
प्रहरी रिपोर्टमा सातजनाको भूमिका यस्तो थियो
१. देवदहका वसन्तबहादुर चापागार्इंले मनोज पुनको निर्देशनबमोजिम घटनाको दिन दिनभरि दुर्गा तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराएका थिए ।
२. तिलोत्तमा–१५ का बुद्धिसागर यादवले मनोजको निर्देशनमा सागर थापाले ल्याएको बा.५१प ८०७३ नम्बरको मोटरसाइकल केही महिनाअघिदेखि आफ्नो घरमा लुकाएर राखेका थिए । घटना भएको दिन आफ्नो भाइ राजेश यादवमार्फत सो मोटरसाइकल पठाइदिएका थिए ।
३. तिलोत्तमाका राजेश यादवले दाजु बुद्धिसागरले दिएको मोटरसाइकल रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएका थिए ।
४. तिलोत्तमाकै प्रयास भनिने खेमानन्द भट्टराईले मनोजको निर्देशनबमोजिम घटना भएको दिन बिहान सुटरलाई आफ्नो लु.२८प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पुर्‍याएका थिए । हत्यापछि सुटर तथा सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पु¥याएका थिए । उनले सागर थापाको मोबाइल तथा सिम फालिदिएको र मणिग्रामबाट सुटरलाई पोखरातर्फ र
सागर थापालाई पाल्पा हुँदै गुल्मी रिडीतर्फ पठाएका थिए ।
५. देवदह–८ का सागर थापाले राजेश यादवबाट लिएको मोटरसाइकलमा सुटरलाई लिएर तिवारीको पिछा गरेका
थिए । गोली हान्दा उनले नै मोटरसाइकल चलाएका थिए ।
६. धकधईका अंगद् थारू हातहतियार संकलन, ओसारपोसार र फिरौती रकम उठाउनेमा संलग्न थिए ।
७. देवदहका ऋषीश्वर कुमाल पनि हातहतियार संकलन, ओसापोसार र फिरौती रकम उठाउनेमा संलग्न थिए ।
राजनीतिको आडमा अपराध

प्रचण्ड थैब हत्यापछि युवा संघ प्रवेशमनोज पुन ०६७ सालमा तत्कालीन युवा संघ बुटवल अध्यक्ष प्रचण्ड थैबको हत्यापछि एमाले प्रवेश गरेका थिए । त्योभन्दाअघि उनी वाइसिएलमा आबद्ध थिए । तर, हत्याविरुद्धको आन्दोलनले बुटवल तताएपछि उनी एमाले प्रवेश गरेका हुन् ।
उनी माओवादीबाट सालिकराम चापागाईंसहित एमाले प्रवेश गरेका थिए । एमालेका क्षेत्रीय कमिटी सदस्य टीकाराम चापागार्इं र त्यतिखेर भर्खर कांग्रेस छोडेर एमाले प्रवेश गरेका कृष्णराज पौडेलले उनलाई एमाले प्रवेश गराएका हुन् । कृष्णराज पौडेलका भाइ मदन पौडेल र मनोजको सम्बन्धले गर्दा उनी एमाले प्रवेश गरेका थिए । प्रवेशलगत्तै युवा संघ क्षेत्र नं १ को सम्मेलनबाट कृष्णराज पौडेल युवा संघको क्षेत्रीय अध्यक्ष हुँदा मनोज पुन कोषाध्यक्ष र सालिकराम चापागार्इं सदस्य भए । तर, चार वर्षदेखि उनी पार्टीको सम्पर्कमा नरहेको एमाले रुपन्देहीले जनाएको छ ।
युवा संघमा प्रवेशपछिका अपराधयुवा संघ प्रवेशसँगै उनीहरू काठतस्करी, गिट्टी–बालुवाको चोरी गर्ने ट्र्याक्टरबाट हप्ता उठाउने र जग्गा व्यापारीसँगको मिलेमतोमा विभिन्न व्यक्तिलाई धम्क्याई रकम असुलीमा लागे । पुनले माओवादी ब्यारेकबाट फर्केका केहीसँग मिलेर पनि लुटपाट र असुली गरेका थिए ।
पुनले ०६९ मा देवदह–३ सेमरानामा रमेश सुनारलाई खुकुरी प्रहार गरेका थिए । सो घटनामा युवा संघ नगरका तत्कालीन देवदह अध्यक्ष चन्द्रकान्त खरेलको मोटरसाइकलमा क्षति पुगेको थियो । यो घटनापछि प्रहरीलाई सूचना दिँदासमेत आलटाल भएपछि युवा संघ देवदहका कार्यकर्ताको नेतृत्वमै उनीहरूलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो ।
त्यतिखेर मनोज पुनलाई लखेट्दा खेतमा फालिएको पेस्तोल अर्को दिन भेटिएको थियो । सो पेस्तोल प्रमाणका रूपमा प्रहरीलाई नबुझाएर एमालेले उनलाई जोगाएको थियो ।
त्यसको केही समयपछि नवलपरासी सुनवलका गोपी पुनमाथि दिउँसै खैरेनी चोकमा खुकुरी प्रहार भयो । यसमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ । ०७१ सालमा बुद्ध सामुदायिक वनको काठचोरी गरी अवैध रूपमा बेच्न खोजेकोमा सेमरानामा उनी पक्राउ परे । ती काठ अहिले पनि सडकमै फालिएको अवस्थामा छन् ।
मनोजकै निर्देशनमा देवदह–७ का नारायण बस्नेतमाथि गोली प्रहार गरिएको आरोप पनि लागेको छ । गोली तिघ्रामा लागेकाले उनी बच्न सफल भएका थिए ।
राजनीतिक संरक्षणमाओवादीमा रहुन्जेल वाइसिएलबाट राजनीतिक संरक्षण पाएका मनोज पुन माओवादी कमजोर हुँदै जान थालेपछि एमालेमा प्रवेश गरे । प्रवेशपछि पनि यिनीहरू पटक–पटक प्रहरी नियन्त्रणमा नपुगेका होइनन् । तर, तत्कालीन एमाले नेता स्व. रामनाथ ढकालले स्थानीय नेताको सिफारिसमा छुटाउँदै आएका थिए ।
दुर्गा तिवारीको हत्या भएलगत्तै एमालेकै कतिपय व्यापारिक र ठेकेदारी पृष्ठभूमिका नेताले मोटो रकम मनोज पुनलाई पठाएको स्रोतहरू बताउँछन् । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा फिरौती उठाउने मानिस पक्रिन थालेपछि व्यापारीलाई प्रयोग गरेर रकम उठाएको उल्लेख छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167