नेपाली सेफको सिड्नीमा खाना महोत्सव - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Sunday, February 5, 2017

नेपाली सेफको सिड्नीमा खाना महोत्सव

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



Nepali-Food-Festival-Sydney


सिड्नी । नाम सुरज प्रधान । नेपालमा घर चितवन जिल्ला । अष्ट्रेलिया आएको ६ वर्ष भयो । पेशाले उनी सेफ । विश्वप्रसिद्ध सेफहरुसँग काम गर्दागर्दै उनलाई लाग्यो, नेपाली खानाको मौलिकतालाई विश्वव्यापी चिनाउन किन सकिँदैन ? निष्कर्ष निकाले- अब सिड्नीमा नेपाली खाना महोत्सव गर्ने । तिथि मिति जुराए- अप्रिल आठ तारिक ।


सिड्नीको सेन्ट्रल रेल स्टेशन नजिकैको सुन्दर पार्क वेलमोरमा आयोजना हुने उक्त खाना महोत्सवको नाम राखिएको छ- ‘टेस्टिङ नेपाल’ अथवा नेपालका स्वाद चाखौं ।
बिहान सकिनै लाग्दा सुरु हुने यो महोत्सव साँझ सात बजेसम्म चल्ने छ जसमा नेपालका बिभिन्न भौगोलिक क्षेत्र र जाति समुदायका भोजनहरु पकाएर खुवाइने छ । साथै सोही दिन नेपाली खाना पकाउने भाँडाहरु पनि प्रदर्शनीमा राखिने छ ।
महोत्सव गर्न कस्सिएका नेपाली सेफ सुरज प्रधान भन्छन् – नेपाललाई अब बहुसाँस्कृतिक मिठो खानाको देश पनि हो भनेर चिनाउनुपर्ने बेला आएको छ ।
नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने र नेपालको भोजनबाट पर्यटनलाई टेवा पुर्‍याउने लक्ष्य रहेको यो खाना महोत्सवलाई सहयोग गर्न अष्ट्रेलियन र नेपाली संघसंस्था एवम् व्यक्तिहरु पनि तम्सेका छन् ।
‘टेस्टिङ नेपाल’ नामक डकुमेन्ट्री पनि निर्माणको चरणमै रहेका सुरजले पछिल्लो पटक सगरमाथा आधार शिविरमा नेपाली खाना बनाएर अन्तर्राष्ट्रिय भोजनप्रेमीहरुलाई खुवाएका थिए ।
त्यो बेलाको समय सम्झिँदै उनी भन्छन्- जेम्स शर्मन, केभिन, ज्याक जस्ता विश्व चर्चित रेष्टुरेन्टमा काम गरेका सेफहरुसँग काम गर्दा निकै रोमाञ्चक भयो ।
१० जना अन्तर्राष्ट्रिय सेफ, १५ जना पाहुनाको नेपाली भूगोलमा नेतृत्व गरेका सुरज प्रधानले १७ हजार पाँच सय फिटको उचाइमा वन स्टार हाउस पार्टी पप अप रेष्टुरेन्ट चलाएका थिए ।
२० महिनासम्म २० स्थानमा त्यस्ता रेष्टुरेन्ट चलाउने र सम्बन्धित देशका खानाको स्वाद चाख्ने-चखाउने उद्देश्य लिइएको उक्त वन स्टार हाउस पार्टी रेष्टुरेन्टले अष्ट्रेलियामा भएका सुरजलाई नेपालको सगरमाथा आधार शिविरमा एक दिनका लागि तयार हुने रेष्टुरेन्टको नेतृत्व गरिदिन अफर गरेको थियो ।
गत नोभेम्बरमा नेपाल घुमेका सुरजले सिड्नी पुगेको केही दिनमै पाएको अवसर गुमाउन चाहेनन् र त्यसका लागि उनी डिसेम्बरमा नेपाल हानिए । डिसेम्बर ९ मा काठमाडौंमा जम्मा भएका सेफहरु र पाहुनाहरु भोलिपल्टै लुक्ला उडे । रमाइलो त यस्तो थियो कि सेफहरु र पाहुनाहरु नेपाल ओर्लिंदाबित्तिकै निकै भोकाएका जस्ता ठमेल आसपासका गल्लीमा नेपाली खाना बुत्याउन छरिएका थिए । काठमाडौंका नेवारी र थकाली भोजनालयमा उनीहरु तत्कालै पुगेर खान सुरु गरिसकेका थिए ।
डिसेम्बर १० मा लुक्लाबाट उकालो लागेको दुई दर्जनको टीम डिसेम्बर १८ मा सगरमाथा आधार शिविरमा पुगी पप अप रेष्टुरेन्ट स्थापना गर्न सफल भएको थियो ।
सुरज सम्झिन्छन्- त्यो रेष्टुरेन्टका लागि बाटोमा चारवटा कुर्सी त मैले बोकेको थिएँ,’ बाटोमा पाहुनाहरु बिरामी भएकाले समस्या भएको स्मरण गर्दै उनले भने, ‘अनि हामीले बेसक्याम्पमा नेपाली मिठा खानेकुरा बनायौं र हाम्रा पाहुनाहरुलाई खुवायौं ।’
सुरजको अनुभवमा उनको त्यो सहभागीता नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निकै राम्रो अवसर थियो ।
नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने सुरज प्रधानको लक्ष्यका सहयात्री धेरै नेपाली सेफहरु भइसकेका छन् । अप्रील ८ को नेपाली खाना महोत्सवमा पहिले फेसबुकबाटै साथी बनेका अर्का सेफ शिशीर कँडेल पनि सहभागी हुँदैछन् ।
शिशीर अहिले सिड्नीको चर्चित ओपेरा हाउस भित्रको रेष्टुरेन्टमा कार्यरत छन् ।
उनी भन्छन्- नेपालीको जीबनस्तर बढ्दै गर्दा नेपाली खानाको पनि संसारभर सम्मान बढेर जाने छ ।’
त्यसका लागि सेफ पेशामा भएका संसारभरका नेपालीले आ-आफ्ना ठाउँबाट पनि योगदान गर्नुपर्ने उनको राय छ । उनको थप भनाइ छ, ‘हामी फ्रेन्च, इटालियन वा अन्य खानामा जतिसुकै सिपालु भए पनि नेपाली खानाको प्रचार गर्नु हाम्रो धर्म हो ।’
महोत्सवलाई ‘टु टेबल’ नामक संस्थाले प्रायोजन गरेको छ ।
अष्ट्रेलियामा अहिले हजारौं नेपाली यहाँका होटल तथा रेष्टुरेन्टहरु कार्यरत छन् । दर्जनौं नेपाली किराना पसल छन् जहाँ नेपाली खाद्य पदार्थ पाइन्छ । नेपाली खानाको प्रचारमा संगठित रुपमा यसरी महोत्सव गर्ने कुराले विश्वव्यापी रुपमा नेपाली खाना र खाद्य पदार्थको सम्मान बढ्ने सबैले विश्वास लिएका छन् ।
अष्ट्रेलियाका अरु शहर र नेपालमा पनि महोत्सव गरिने
नेपाली खाना महोत्सवबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा बुल्शन लाम्गाडे, मनोज अधिकारीलगायतले फेस्टिबलको तयारीबारे जानकारी गराएका थिए ।
सो महोत्सवमा नेपालबाट होटल एशोसियसन अफ नेपाल, बाजेको सेकुवा लगायतलाई निम्तो दिइएको छ र उनीहरु आउन इच्छुक रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैगरी ह्याण्डीक्राफ्ट, नेपाली मौलिक भेषभुषा, नेपाली मसला लगायतको २५ वटा स्टल रहनेछन् । खानाकामात्रै १५ वटा स्टल रहनेछन् जसमा प्रत्येकमा कम्तिमा दुईवटा मौलिक नेपाली परिकार हुनेछन् ।
महोत्सवमा नेपाली खाना बनाउने सामाग्रीको प्रदर्शनी तथा साँस्कृतिक प्रस्तुतिसमेत रहने छ ।
अष्ट्रेलियाका अरु सहर र आगामी अक्टुबरमा नेपालमा पनि यस्तो महोत्सव आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलवर्नमा पनि खाना महोत्सव आयोजना गरिने अर्का सेफ सुशील अर्यालले बताए ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167