Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
सिड्नी । उनको दैनिकी सुरु हुन्छ बिहानको ६ बजेबाट । पहिले पानी र चिया पिएपछि उनी हप्ताको तीन दिन जीम जान्छन । श्रीमतीसँग ब्रेकफास्ट गरेपछि उनी मोटरसाइकलमा हुँइकिदै सिड्नीका ब्यस्त सडक चाहार्दै नर्थ सिड्नीको वल्सनक्राफ्टबाट न्यूट्रल बे मेरिना पुग्छन जहाँबाट उनको जलयात्रा सुरु हुन्छ ।
त्यो दिन कहाँकहाँ पुग्ने ? उनको इमेलमा बिहानै तालिका आइपुगेको हुन्छ । कति जना यात्रु छन ? बिशिष्ट पाहुना (भीआइपी) कोही छन कि ? यी सवै जानकारी लिएपछि उनी जहाजतिर लाग्छन । इन्जिनियरिङ बिभागका सहकर्मीले जहाज पहिले नै स्टार्ट गरिसकेका हुन्छन । पाहुना सत्कार र खानपान बिभागका सहकर्मीहरु आ-आफ्नो तयारीमा हुन्छन् ।
सवैको अपडेट लिँदै उनी जहाजको ककपिट(जसलाई बि्रज भनिँदोरहेछ)मा पुग्छन । उनका सहयोगीले नेभिगेसन, रेडियो, राडार र सवै इन्जिनहरुको परिक्षण गरी तयारी अबस्थामा राखेका हुन्छन । यी सवै बिषयको निरिक्षणपछि उनले तीनवटै बिभाग- मरिन, हस्पिटालिटी र क्याटरिङका इन्चार्जहरुसँग सवै क्रु मेम्बर हाजिर भए/नभएको र आ-आफ्नो जिम्मेवारीमा भए/नभएको जानकारी लिन्छन । ‘सवै क्रुलाई ‘रेडी’ भन्दै त्यसपछि सलल पानीमा जहाज कुदाउँछु इम्बार्केसन पोर्टतर्फ ।’
सिड्नी डार्लिङ हार्वरको र्याफ नम्बर १ उनको एउटा इम्बार्केशन पोर्ट हो जहाँ उनले आफ्नो काम देखाउन हामीलाई बोलाएका थिए । ‘सिड्नी २००’कल साइनको उनको जहाजमा करिव ७ सय यात्रु र दुई सय क्रु मेम्बर गरी ९ सय जना सवार छन् र यी सवैको जिम्मेवारी उनको काँधमा छ ।
उनी हुन् नेपालको पाल्पा जिल्लामा जन्मिएर बुटबल र देवदहमा बाल्यकाल बिताएका ब्राम पाण्डे । जसले पहाड खोँच र मधेसका फाँटमा आफ्नो बाल्यकाल बिताए, आज उनी बिशाल समुद्रमा नेपालीले गर्व गर्न लायकको क्रुज क्याप्टेनको जिम्मेवारीमा छन् । सम्भवतः अष्ट्रेलियामा पानी जहाजका पहिलो नेपाली क्याप्टेन ।
डार्लिङ हार्वरको र्याफमा आइपुग्दा ककपिटबाट ओर्लिएर उनी यात्रुहरुको स्वागतमा जुट्छन । ‘क्याप्टेनले नै स्वागत गर्दा यात्रुहरु झनै खुसी हुन्छन’ पाण्डे भन्छन-मैले पनि सवै यात्रुहरुलाई चिन्ने अबसर पाउँछु ।’
सवै यात्रु आ-आफ्नो सिटमा पुगेपछि उनी पनि ककपिटमा पुगेर सवैलाई स्वागत गर्दै सेफ्टी अनाउन्समेन्टतिर लाग्छन । ‘लेडिज एण्ड जेन्टलमेन, मे आइ ह्याभ योर एटेन्सन प्लिज’ ब्रामले आफ्नो परिचय दिँदै उनले जहाजमा सुरक्षा बिधि, मौसम, तापक्रम, हावाको गति, दुरी र रुटबारे जानकारी दिँदै यात्रा सुरु गर्छन् ।
डार्लिङ हार्वरबाट सिड्नी हार्वकार सुन्दर दृष्यहरु अबलोकन गराउँदै बिश्वचर्चित सिड्नी हार्वर बि्रज हुँदै उनी गगनचुम्बी महल देखाउँदै अगाडी बढ्न । सिड्नी ओपेरा हाउस नजिकैबाट उनी अगाडी बढ्छन् । यो त्यही ठाउँ हो जहाँबाट उनले पहिलोपटक पानी जहाज देखेका थिए । प्रशान्त महासागरको दूर क्षितिजतिर आँखा डुलाउँदै ब्रामले भने- त्योभन्दा पहिले सिनेमामा मात्र पानीजहाज देखेको थिएँ, पहिलोचोटी आफ्नो आँखाले देख्दा अचम्म लाग्यो ।’
पानीजहाज भन्दा पनि मानिसहरु त्यहाँभित्र नाचिरहेका, गाइरहेका र खाना खाइरहेका दृष्य देखेर चकित परे । ‘घरमै नखाएर किन मानिसहरु जहाजभित्र बसेर खाइरहेका होलान भन्ने लाग्थ्यो, पछि थाहा पाएँ, यो अर्कै संसार पो रहेछ ।’
उनलाई लाग्यो, जागिर त यस्तो पो खानु ! ओपेरा हाउसबाट घर फर्किएलगत्तै उनले गुगलमा पानीजहाजमा कुनै भ्याकेन्सी छ कि भनी खोजे । उनले सोचेजस्तै भयो, उनले आबेदन गरिहाले ।
आफ्नो बिगत कोट्याइरहँदा उनले हाँकिरहेको जहाज भने ओपेरा हासउसबाट अगाडी मक्वारी पोइन्ट हुँदै सार्क र क्लार्क टापुभन्दा अगाडी बढिसकेको छ । त्यहाँबाट सिड्नीको पूर्वी भागका निकै महंगा सबअर्बहरु पोइन्ट पाइपर, बाटसन बे हुँदै सिड्नी हेड्स नजिक जहाज पुग्छ । काठमाण्डौमा चोभारको गल्छीबाट पानी बाहिरिएजस्तै सिड्नी हेड्स हुँदै प्रशान्त महासागरको पानी सिड्नी हार्बरभित्र पस्छ ।
अब बल्ल सुरु हुन्छ, प्रशान्त महासागरको जलयात्रा । डार्लिङ हार्वरबाट छुटेको जहाज करिव एक घण्टापछि सिड्नी हेड्सबाट बाहिरिएसँगै सरासर दक्षिण लाग्छ । अष्ट्रेलियाको सिमानामा रहेका ठूलाठूला चट्टान र पहाडहरु हेर्दै मालबाहक पानीजहाजको बन्दरगाह पोर्ट बेट्नी र सिड्नीको किङ्सफोर्ड बिमानस्थल नजिक हुँदै उनको जहाज अगाडी बढ्छ ।
सिड्नीका प्राकृतिक दृष्यहरु हेर्दै अष्ट्रेलिया पत्ता लगाउने क्याप्टेन जेम्स कुकले पाइला टेकेको कर्नेल भन्ने स्थानमा पुगेपछि पाण्डेले आफ्नो जहाज फर्काउँछन् । कुनैबेला ओपेरा हाउसको आगनबाट हेरेका दृष्य यतिबेला पाण्डेले आफ्नै जहाजको ककपिटबाट हेर्छन् । उबेलाको रहर यतिबेला जिम्मेवारीमा फेरिएका छन् ।
सिड्नी हेड्सबाट पूर्वी च्यानल हुँदै बाहिरिएका उनी पश्चिीम च्यानल हुँदै सिड्नी छिर्छनर पुरानै दृष्यहरु दोहोर्उँदै । उनको गन्तब्य हो- डार्लिङ हार्वर । यहाँ आइपुगेपछि उनी धन्यबाद सन्देशसहित आफ्नो यात्राको बिट मार्छन ।
पुनः भेटने वाचा गर्दै यात्रुहरुलाई बिदाई गरे पनि शनिवार भने उनले नेपाली यात्रुहरुलाई स्वागत गरे, उनले नियमित चलाउनेभन्दा सानो जहाजमा । सिड्नीमा रहेका नेपाली युवाहरुले बर्षमा एक दिन आयोजना गर्ने भ्यालेन्टाइन क्रुज पार्टीमा ब्राम आफैले जहाज चलाउने गरेका छन् । सयौं दाजुभाईसँग भेट पनि हुने र आफुले काम गरिरहेको कम्पनीका जहाजमा नेपाली दाजुभाई चढ्दा त्यसलाई रोमाञ्चक बनाउने आफ्नो दायित्व सम्झिएर उनले जहाज चलाउने निधो गरेका हुन् ।
योपटकको क्रुज पार्टी यस अर्थमा पनि भिन्न भयो कि, ब्रामले आफ्नो मातृभूमी नेपालको झण्डा पनि जहाजमा फहराए । जहाजमा सवार यात्रुहरुलाई स्वागत र बिदाई पनि उनी नेपाली भाषामै गरे । भूपू प्रधानमन्त्री केपी शर्मा अोलीले नेपाली झन्डा भएका पानीजहाज महासागरमा चलाउने सपना देखाए पनि अहिलेसम्म सम्भव भएको छैन् । तर, संयोग नै भनाैं एक दिनका लागि सिड्नीमा त्यो सपना पुरा गरिदिए पानीजहाजका नेपाली क्याप्टेन ब्रामले ।
नेपालको आफ्नै पानी जहाज नभएपनि आज उनले झण्डै चार सय नेपाली यात्रुलाई लिएर करिव चार घण्टा प्रशान्त महासागरको यात्रा गराए ।
रात्रीभोजसहितको यो क्रुज पार्टीको नाच, गान तथा खानपिनमा भने क्याप्टने ब्राम सहभागी हुन पाएनन् । ‘मेरो पेशा तथा जिम्मेवारीबाटै म रमाएँ’ ब्राम भन्छन-‘रमाइरहेका नेपाली दाजुभाईहरुलाई प्रशान्त महासागर घुमाउनुमै मलाई आनन्द मिल्यो ।’
किनाराका बिद्यार्थी यसरी बने क्याप्टेन
पाण्डे बिद्यार्थीका रुपमा सन् २००७ अगष्ट ३ मा सिड्नी आइपुगेका थिए । युनिभर्सिर्टी अफ साउदर्न क्विन्सल्याण्डबाट २००९ मा एमबीए पढाइ सकेका उनले सिड्नीमा गरेको संर्घषको कथा अरु नेपालीको जस्तै हो । त्यतिबेला काम पाउन कठिन थियो । उनले कामका लागि सयौं ठाउँमा आबेदन दिए पनि सोंचेजस्तो काम भेटिएको थिएन । एक दिन घुम्दै ओपेरा हाउस पुग्दा देखिएको पानी जहाजको दृष्यले उनको जीवनको यात्रा परिवर्तन गरिदियो ।
संयोग नै मान्नुपर्छ उनलाई त्यतिबेला तीन ठाउँबाट कामको अफर आएको थियो । तर, उनले केही नसोची पानी जहाज कम्पनीतिरै लागे । सुरुमा उनले पानीजहाजका पाहुना सत्कारको काम पाए । कम्पनीले उनलाई पानी जहाजमा काम गर्दा चाहिने सवै सीप सिकायो । नेपालमा तिनाउँ नदीमा पौडी खेल्दा आर्जेको सीप उनलाई यहाँ काम लाग्यो । पानीजहाजमा जुनसुकै जागिर खान पनि पचास मिटरको पौडी पार गर्नसक्ने हुनुपर्छ ।
अतिथि सत्कारको काम थालेको तीन महिनामै उनले कम्पनीबाट अर्को अफर पाए । मरिन, हस्पिटालिटी र क्याटरिङमध्ये उनले मरिन बिभागमा काम गर्ने निर्णय गरे । कम्पनीले उनलाई तीन महिनाको तालिम दियो । साथै न्यू साउथवेल्स सरकारबाट पनि पानीजहाज चलाउने लाइसेन्स प्राप्त गरे । डेक अफिसरका रुपमा दुई हजार घण्टाको यात्रा गरेपछि उनलाई फेरि तीन महिनाको तालिम दिइयो । त्यसपछि उनी फर्स्ट अफिसर बने । फर्स्ट अफिसरका रुपमा दुई हजार घण्टा यात्रा गरेपछि उनी क्याप्टेनका लागि तयारी थाले । क्याप्टेनको कोर्स सकेपछि उनले सोही जिम्मेवारी पाए ।
पाण्डेले अहिलेसम्म करिव ८ हजार घण्टा समुद्रमा यात्रा गरिसकेका छन् । अहिले उनले अष्ट्रेलियाको जमिनी सीमाबाट करिव ४ सय किलोमिटरसम्म जहाज चलाउन पाउँछन् ।
No comments:
Post a Comment