विनोद चौधरी दलाल पुँजीपति हुन् - घनश्याम भुसालको निष्कर्ष - - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Sunday, February 5, 2017

विनोद चौधरी दलाल पुँजीपति हुन् - घनश्याम भुसालको निष्कर्ष -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


२३ माघ, काठमाडौं । नेपालका कम्युनिस्ट नेता र वामपन्थी बुद्धिजीवीहरुबीच आइतबार छलफलको विषय थियो ‘नेपालमा पुँजिवादको चरित्र’ । नेपाल अध्ययन केन्द्रले आयोजना गरेको बहसमा कार्यपत्र प्रस्तोता थिए-एमाले उपमहासचिव घनश्याम भुसाल ।

leaders

भुसालले बोल्दाबोल्दै बिनोद चौधरीको प्रसंग निकाले । उनले चौधरीको नाम त लिएनन् तर विश्वका धनी व्यक्ति भनेर नेपाली उद्यमी फोर्ब्समा आए पनि उनको चरित्र दलाल पुँजिपति रहेको टिप्पणी गरे । चौधरी एमालेबाटै संविधानसभा सदस्य भइसकेका र एमालेको राजनीतिमा संलग्न अर्बपति हुन् ।


एमालेका पूर्वअध्यक्ष झलनाथ खनालसहित धेरै एमाले नेता-कार्यकर्ताले खचाखच भरिएको बागबजारस्थित हार्दिक होटलको हलमा एमाले उपमहासचिव भुसालले भने- राष्ट्रिय पुँजिपतिले उत्पादनमूलक उद्योग गरेर श्रमलाई उद्योगसँग गाँस्छ । तर, हाम्रोमा फोब्र्सको सूचीमा पनि परिसके, तर सारमा औद्योगीकरण होइन, माल ल्याउने, बेच्ने र पैसा बाहिर लैजाने पुँजिपति भए ।

एमाले नेता भुसालका अनुसार विनोद चौधरीले नेपालमै वस्तु उत्पादन गर्ने, त्यो उत्पादनसँग नेपाली श्रम जोड्ने र औद्योगीकरण गर्ने प्रक्रिया थालेमात्रै त्यो औद्योगिक पुँजिवाद हुन्छ । त्यो नगरेसम्म नेपालका व्यापारीहरुले गर्ने गरेको धन आर्जन बिचौलिया धन्दामात्रै हो । यसबाट समग्रमा मुलुकलाई केही फाइदा हुँदैन ।

‘जनवादी क्रान्ति सकियो, दलाल पुँजीवाद हावी भयो’

घनश्याम भुसालको कार्यपत्रमाथि टिप्पणी गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुन, नेकपा संयुक्तका नेता सुनिल मानन्धर, बामपन्थी अर्थ राजनीतिक विश्लेषक हरि रोक्काहरुले पनि नेपालमा दलाल पुँजीवाद हावी रहेको बताए । उनीहरुको भनाइ थियो- उत्पादन नगर्ने, बाहिरका सामान ल्याएर बेच्ने र नाफा कमाउने वर्ग भनेको दलाल पुँजिपति वर्ग नै हो, नेपालमा त्यही वर्ग हावी छ ।

नेपालका कम्युनिस्टहरुबीच तत्कालीन सत्ता राजनीतिमा पानी बाराबारको अवस्था रहे पनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षमा भने एकमत देखियो । नेपालमा सामन्तवादको अन्त्य भई पुँजीवादी-जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्नेमा उनीहरुबीच एकमत देखियो ।

‘अर्धसामन्ती’ भन्नेहरुलाई जवाफ

माओकी कान्छी श्रीमतीलाई हेर्ने दृष्टिकोणमा मतभेद भएर पार्टी फुट्ने गरेको नेपाली कम्युनिस्टहरुको सन्दर्भमा सामाजिक चरित्रलाई बुझ्ने दृष्टिकोणमा पनि पूरै समानता भने आइसकेको छैन । जस्तो कि-मोहन वैद्य, मोहनविक्रम सिंह, नेत्रविक्रम चन्द जस्ता कम्युनिस्ट नेताहरुले नेपाल अझै पनि अर्ध सामान्ती र अर्धऔपनिवेशिक युगमै रहेको परम्परागत ‘जार्गन’ छाडेका छैनन् ।

आइतबारको बहसमा यो विषय पनि उठ्यो । यसमा घनश्याम भुसालको जवाफ थियो- ‘नेपाल अर्धसामन्ती अर्धऔपनिवेशिक नै हो भनेर मान्ने हो भने यो एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक हो भन्ने कुरा खण्डित हुन्छ । त्यस्तै अहिलेको राजनीतिक व्यवस्था गणतन्त्र नै होइन भन्नुपर्ने हुन्छ । तर, उनीहरु-मसालहरु) यो विषयमा प्रवेश नै गर्न चाहँदैनन् ।’
नेपाली समाजको चरित्र र पुँजिवादको बारेमा बिभिन्न व्यक्तिका धारणा सम्पादनसहित प्रस्तुत गरिएको छ ।

गाडी र सारी बेच्ने पुँजीवाद


Ghana-shyam-bhusal-768x460– घनश्याम भुसाल, उपमहासचिव नेकपा एमाले

नेपालका कम्युनिस्टहरुको मूलधार नेपाल पुँजीवादी राज्य भइसक्यो भन्नेमा लगभग एकमत देखिन्छ । तर, हाम्रो पुँजीको चरित्र के भन्नेमा अधिकांश कम्युनिस्ट पार्टीहरु मौन छ । यसमा एमाले पनि चुकेको छ ।

अहिले त के भयो भने हाम्रो सम्पूर्ण शक्ति चुनावमा लगाउने । चुनावमा किन लाग्ने त भन्दा अर्को चुनावका लागि शक्ति सञ्चय गर्ने । यसरी चुनावदेखि चुनावसम्म मात्रै भए कम्युनिस्टहरु ।

संविधानमा समाजवाद भन्ने शब्द परेको छ । यदि हामी इमान्दार छौं भने यसमा बहस गर्नुपर्छ । संविधानमा लेखिदिएर पुग्दैन । यसबारेमा छलफल नगरी समाजवादमा पुग्न सकिन्न । अहिले मूलतः हाम्रो पुँजीवादी चरित्र भनेको दलाल पुँजीवाद नै हो । योभन्दा विदेशी लगानी आउँदैन कि भन्ने कतिपयमा परेको छ । दलाल भनेको बिचौलिया हो । एक ठाउँको सामान ल्याएर अर्को ठाउँमा बेच्ने र त्यसबाट नाफा खाने । त्यसले उत्पादनमा जोड दिदैन ।

हाम्रो अर्थतन्त्र भनेको कस्तो भयो भने- गाडी ल्याउने, सारी ल्याउने । गाडी बेच्ने, सारी बेच्ने । त्यसले न गाडी बनाउँछ, न सारी बनाउँछ । अरुकोबाट ल्याएर बेच्ने र नाफा खाने । त्यो त दलाल चरित्र भयो । यसरी सामान बेच्ने पुँजीवाद होइन । हामीलाई चाहिएको औद्योगिक पुँजीवाद हो ।

परम्परागत श्रमलाई उद्योगसँग गाँस्नुपर्‍यो । जसले त्यसो गर्दैन, त्यो दलाल पुँजीपति नै हो । आज नेपालकै व्यक्ति फोब्र्समा पनि आएका छन् । तर, उत्पादन चाहिँ के भयो त ? पैसा कहाँ छ त ? दलाल भनेको नराम्रो शब्द होइन, बिचौलिया हो । दलाल भन्न डर लाग्छ भने अनुत्पादक भनौं ।

दलाल पुँजीपति वर्ग भनेको राज्यलाई लुटेर खाने नयाँ वर्ग हो । यसमा व्यापारी, नेता, कर्मचारी सबै पर्छन् । यिनीहरुले एक अर्कामा नेक्सस बनाएर राज्यलाई लुट्छन् । अहिले हाम्रो पुँजीवाद भनेको यही चरणमा छ । यसलाई तोडेर उत्पादनमूलक पुँजीवाद र औद्योगिक पुँजीवादमा नभई सम्बृद्धि सम्भव छैन ।

दुई खर्ब रुपैयाँले समृद्धि सम्भव छ ?

barsaman-pun
-वर्षमान पुन, नेता नेकपा माओवादी केन्द्र

हामी दुनियाँभरका दर्शन र समाजको ब्याख्या गर्छौं । उदाहरण पनि दुनियाँको दिन्छौं, तर नेपालकैबारे व्याख्या गर्न कमजोर भयौं । नेपालमा पुँजीवादी-जनवादी क्रान्ति सम्पन्न भयो भन्नेमा हाम्रो पार्टी पनि पुगिसकेको छ । अहिलेको चुनौति भनेको दलाल पुँजीवादलाई कसरी परास्त गर्ने भन्ने नै हो ।

दलाल पुँजीवाद भनेको सारमा साम्राज्यवादकै साथमा आउने हो । वास्तवमा दलाल पुँजीवाद भनेर मात्र पुग्दैन, यसलाई दलाल-नोकरशाही पुँजीवाद भन्नुपर्छ । नोकरशाही भनेको यस्तो प्रवृति हो, त्यसले जो प्रधानमन्त्री मन्त्री भए पनि आफू अनुकुल कलम घुमाएर ठीक पार्छ ।

राज्यशक्ति र दलाल पुँजीपति वर्गबीच विचौलियाको भूमिकामा नोकरशाही वर्ग हुन्छ । जसलाई कर्मचारीतन्त्रका रुपमा बुझ्न सकिन्छ । हामीले उत्पादनमूलक पुँजीवादको विकास गर्न नसकेसम्म विकास हुँदैन । अहिले दलाल नोकरशाही वर्ग हावी हुनु भनेको साम्राज्यवाद हावी हुनु हो ।

एमालेले राष्ट्रिय स्वाधीनताको कुरा गरिरहेको छ, यसमा दलाल पुँजीवादको कुरा आउँछ । दलाल पुँजीवाद बलियो भयो भने राष्ट्रियता कमजोर हुन्छ । यो कुरामा एमालेसँग हाम्रो पनि विमति छैन । हामीले समाजवादी क्रान्तिको तयारीमा लागौं भनेका छौं ।

तर, एमाले र बाबुराम भट्टराइजीको कुरा कता कता मिल्दैछ । उहाँहरु श्ाहरिया मध्यमवर्गलाई साथमा लिने र समृद्धिको एजेण्डा अघि सार्ने लाइनमा हुनुहुन्छ । यति सजिलो उहाँहरुको समृद्धिको एजेण्डा काम लाग्छ भन्ने मलाई लाग्दैन । किनकि हाम्रो अर्थतन्त्र हेर्ने हो भने जम्मा दुई खर्ब रुपैयाँ बचत छ ।

जबकि बुढीगण्डकी आयोजना बनाउन साढे ३ खर्ब चाहिन्छ । अनि समृद्धि कसरी सम्भव छ ? यहिनेर आउँछ राष्ट्रियताको कुरा । हामीले वैदेशिक लगानी, ऋण र सहयोग स्वीकार गर्नैपर्छ । तर, वैदेशिक लगानीको सन्दर्भमा पुनःउत्पादन लगानी गर्छन् कि कमाएर लान्छन् भन्नेमा सचेत हुनुपर्छ ।

बजारमा डलर किन पाइँदैन ?

Hari-roka
-हरि रोक्का, वामपन्थी विश्लेषक

संसारका अनुभव हेर्ने हो भने एउटा उद्योगपतिले बैंकर हुन पाउँदैन । उसले बिमाको व्यापार गर्न पाउँदैन । तर, हाम्रोमा एउटै परिवारले उद्योग, बैंक र विमाको व्यापार चलाइरहेको हुन्छ । यसले पुँजी विस्तारमा बाधामात्र पार्दैन, थोरै व्यक्तिको हातमा पुँजीको नियन्त्रण हुन्छ ।

पृथ्वीको आधा जनसंख्यासँग भएजति धन विश्वका ८ जना व्यक्तिसँग रहेको रिपोर्ट भर्खरै आएको छ । भारतका ५७ जना व्यापारीको हातमा त्यहाँका ७० प्रतिशत जनताको जति पैसा छ । हाम्रै कुरा गर्ने हो भने राणाले १०४ वर्ष कमाएको पैसा पनि विदेशमै लगे । अहिले रेमिट्यान्स भने पनि पैसा विदेशिएकै छ । नत्र बजारमा डलर किन पाइँदैन ?

वास्तवमा नेपालमा क्यापिटल फ्लाइज निरन्तर चलेको छ । हाम्रोमा अनैतिक पुँजीवाद फस्टायो । वामपन्थीहरुले यसको खोजी गरेनन् । संरचना परिवर्तन गर्ने भन्दा पनि यही संरचनाभित्र आफूलाई समायोजन गर्नेतिर लागे । अहिले हाम्रो देश पुँजीवादी युगमा गयो, तर यो दलाल पुँजीपतिको नियन्त्रणमा पुग्यो ।

नेपाल पुँजीवाद दलाल नै हो

सुनील मानन्धर, नेता नेकपा संयुक्त

नेपाल सामन्ती युगबाट पुँजीवादी युगमा प्रवेश गर्‍यो भनेर सबैभन्दा पहिले दस्तावेजीकरण गरेको हामीले नै हो । अब एमाले र माओवादी पनि हाम्रो लाइनमा आए । मोहन वैद्य र विप्लवहरुले अझै पनि पुरानै जार्गन छाडेका छैनन् ।


नेपालमा गरिवीको मूल कारण नै अनुत्पादक पुँजी हो । दलाल पुँजीवाद भनेको यस्तो हो, जसले उत्पादन गर्दैन । वास्तवमा नेपालको पुँजीवाद भनेको दलाल पुँजीवाद नै हो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167