काठमाडौं– हेटौंडा सुरुङमार्ग निर्माणमा साढे ३ वर्ष समय थप्न माग - newsallabc.com

Breaking

Saturday, February 18, 2017

काठमाडौं– हेटौंडा सुरुङमार्ग निर्माणमा साढे ३ वर्ष समय थप्न माग

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले निर्माणका लागि सरकारसँग साढे ३ वर्ष थप्न माग गरेको छ । सरकारले दिएको म्याद गत १६ डिसेम्बरमा सकिएको छ । तर, अहिलेसम्म मन्त्रालयले म्याद थप्ने वा नथप्ने भन्नेमा आधिकारिक धारणा ल्याएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले भने, ‘म्याद थप्ने वा के गर्ने भन्ने अझै टुंगो लागेको छैन । हामी अहिले यस विषयमा छलफलकै चरणमा छौं ।’ बिहीबार यसको म्याद सकिएको ठ्याक्कै २ महिना पुगेको छ । म्याद थप्न स्वीकृति मागेपछि मन्त्रालयले कम्पनीसँग अब बन्ने सम्भावनासहितको प्रतिवेदन बुझाउन भनेको थियो । अहिले कम्पनीले रिभाइज सेड्युल बुझाएको छ । मन्त्रालय स्रोतका अनुसार अहिले यस कम्पनीले बुझाएको रिपोर्टमा यसले थप साढे तीन वर्षको म्याद मागेको छ । साथै कम्पनीले यसको लागत पनि परिमार्जन गरेको छ ।



यसअघि कम्पनीले यो आयोजना ३७ अर्बमा बन्ने आँकलन गरेको थियो । तर, अहिले यसले बुझाएको रिपोर्टमा भने ५० अर्बको हाराहारीमा लागत लाग्ने उल्लेख गरिएको छ । यसअघि कम्पनीले यो सुरुङमार्ग ३७ अर्बमा बन्ने दाबी गर्दा विज्ञहरूले यो रकममा बन्न असम्भव भएको बताउँदै आएका थिए । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण गर्न देखाएको चासोलाई २०६९ साल वैशाखमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । यो आयोजनाको काम २०७१ बाट सुरु गर्ने भनिएको थियो । कम्पनीले दुई वषभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो । लगानी जुटाएपछि मात्र सरकारले सुरुङमार्ग निर्माणको स्वीकृति दिने बताएको थियो ।
मुख्य लगानी जुटाउने पाटो नै अघि बढ्न नसकेपछि कम्पनीमा अन्य भएका काम पनि गौण नै देखिए । यसले डीपीआर बुझाइसकेको छ । जसका आधारमा नै निर्माणको स्वीकृति पाएको हो । वातावरणीय प्रभाव मूल्यांकनको काम भने लगभग सकिएको छ । ईआईएअन्तर्गतको प्रमुख टीओआर स्कुपिङ सकिएको छ । अब एक सूचना निकाली यस विषयमा छलफल चलाएर मन्त्रालयले स्वीकृति दिन मात्रै बाँकी छ । कम्पनीलाई रकम जुटाउन लामो समयदेखि प्रमुख चुनौतीको विषय बन्दै आएको छ । नेपाली जनतासँगबाटै सहजै उठाएको रकम पनि केही कर्मचारीहरूले घुमघाममै सकिदिएपछि कम्पनीको खातामा अहिले थोरै मात्रै रकम छ । यस कम्पनीले सामान्य जनताबाट ३१ करोड ७६ लाख रकम जुटाएको थियो । तर, अहिले बैंक ग्यारेन्टीका लागि राखेको ३ करोड र बाँकी ४० लाखबाहेक अन्य रकम कम्पनीले खर्च गरिसकेको छ ।
कम्पनीले गैरआवासीय नेपाली तथा अन्य स्वदेशी उद्योगपतिबाट नेपालमै ३५ अर्ब रुपैयाँ उठाउने योजना लिएको थियो । तर, हालसम्म यस कम्पनीलाई हेटौंडावासीबाहेक अन्यले पत्याएका छैनन् । काठमाडौं–हेटौंडा सडकखण्ड २ सय २७ किलोमिटर छ, तर यो सुरुङमार्गको लम्बाइ भने ५८ किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माणपछि एक घण्टामै काठमाडौंबाट हेटौंडा पुगिने कम्पनीको दाबी छ । तर, यति छोटो समयमै यात्रा गर्न पाउने दिन कहिले आउँछ भन्ने चाहिँ अलमलमा नै छ । अहिले काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा लिएको एनपीबीसीएलले विभिन्न विदेशी लगानीकर्ताहरूसँग कुराकानी गरिरहेको छ । तर, म्याद थप्ने अझै अन्योल रहँदा विदेशी कम्पनीहरूले खासै प्राथमिकतामा राखेर यो कम्पनीसँग छलफल गरेका छैनन् ।
कम्पनीले केही समयअघि क्यानेडियन कम्पनी इन्फ्राब्यांक्ससँग लगानी जुटाइदिन आग्रह गरेको थियो । यो कम्पनीलाई एनपीबीसीएलले ५ करोड रुपैयाँ बुझाइसकेको छ । तर, इन्फ्राब्यांक्स कम्पनी अहिले एनपीबीसीएलको सम्पर्कमा नै छैन ।
मासिक न्यूनतम १० लाख रुपैयाँ सञ्चालन खर्च भएकोे यस कम्पनीको सञ्चालन खर्च अहिले घटेर ३ लाख रुपैयाँमा झरेको छ । किनकि, अहिले कैयन् कर्मचारीहरूले कम्पनी छाडिसकेका छन् । यसैगरी, ठूलो मात्रामा रकम बुझ्दै आएका कम्पनीका जागिरे पनि अहिले कम्पनी छाडेर गएका छन् । अहिले काठमाडौं–निजगढ फास्ट ट्र्याक नेपाल सरकार आफैंले निर्माण गर्ने भनेर अध्ययन अघि बढाएको छ । कतिपय विज्ञहरूले फास्ट ट्र्याक बनेसँगै हेटौंडा–काठमाडौं सुरुङमार्गको आवश्यकता नपर्ने बताउँदै आएका छन् । एनपीबीसीएलका अध्यक्ष लालकृष्ण केसीले भने यो सोच गलत भएको बताएका छन् । उनले नाकाबन्दीकै समयमा नेपालीले राम्रो पाठ दिएको भन्दै अन्य वैकल्पिक मार्ग जतिसक्दो छिटो निर्माण हुनुपर्ने धारणा राखे । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167