मीराको जीवन परिवर्तन यसरी बनिन् विश्व चर्चित धाविका - newsallabc.com

Breaking

Saturday, February 18, 2017

मीराको जीवन परिवर्तन यसरी बनिन् विश्व चर्चित धाविका

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


नेपाली अल्ट्रा धावक मीरा राई नेसनल जियोग्राफीले सन् २०१७ का लागि गरेको एड्भेन्चर्स अफ दि इयरको ‘पिपुल्स च्वाइस अवार्ड’ जित्न सफल भएकी छिन् । अवार्डका लागि भएको अनलाइन भोटिङका आधारमा उनलाई विजेता घोषणा गरिएको हो । यो अवार्ड मिसेल ओबामाको हातबाट फेबु्रअरीमा अमेरिकामा प्रदान गरिने मीराले बताइन् । उनी अमेरिकाबाट प्रकाशित हुने म्यागेजिनको कभर फोटोसुट गर्न अमेरिका प्रस्थान गरेकी छिन् ।

१४ वर्षको उमेरमै माओवादी लडाकु

आजभन्दा २७ वर्षअघि भोजपुरको विकट गाउँ सानोदुम्मामा जन्मेकी हुन्– मीरा राई । दिनदिनै गर्नुपर्ने घाँसदाउराले दिक्क भएकी उनी १४ वर्षकै उमेरमा तत्कालीन माओवादीमा लागिन् । माओवादी शान्ति प्रक्रियामा आएपछि केही समय उनी सिन्धुलीस्थित जनमुक्ति सेनाको दोस्रो डिभिजनमा बसिन् । त्यसैवेला नौ कक्षामा पनि भर्ना भइन् । दैनिक विद्यालय जान सम्भव थिएन । तैपनि उनले स्थानीय चम्पादेवी माविबाट एसएलसी पास गरिन् । मीरा सेना समायोजनमा अयोग्य लडाकु बनेर बहिर्गमनमा परिन् । अयोग्य भनिएका लडाकुहरूलाई सीप सिक्ने वा पढाइ रोज्न दिइयो । उनले पढाइ रोजिन् र १८ महिने जेटिए तालिम गरिन् ।

मलेसिया जान लागेकी मीरालाई गुरुले रोके

मीराको मनपर्ने क्षेत्र खेलकुद थियो । उनी समय–समयमा आयोजना हुने विभिन्न प्रतियोगितामा भाग लिने गर्थिन् । सोहीक्रममा उनी काठमाडौं आइन् । पढाइलाई निरन्तरता दिन मन लागे पनि परिवारको आर्थिक अवस्था कमजोर भएकाले सम्भव भएन । उनले रोजगारीका लागि मलेसियाको भिसा लगाइन् । करातेमा ब्ल्याकबेल्ट लिएकी मीरा मलेसिया जाने तयारी गरिरहेका वेला लडाकु ब्यारेकमा चिनजान भएका गुरु ध्रुवविक्रम मल्लसँग भेट भयो । उनले आफ्नो समस्या सुनाएपछि मल्लले मीरालाई मलेसिया जानबाट रोके । त्यतिवेला मलेसियाको भिसा आइसकेको थियो । मीराको क्षमता थाहा पाएपछि मल्लले प्रशिक्षणसहित खानेबस्ने व्यवस्था मिलाइदिए । त्यसपछि उनको खेलजीवन सुरु भयो ।

यसरी सुरु भयो म्याराथन यात्रा

गुरु धु्रवविक्रम मल्लसँग बसेर कराते खेलिरहेकी मीराले पहिलोपटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिइन् । उनलाई यो दौडको विषयमा केही पनि थाहा थिएन । तालिम क्रममा चन्द्रागिरितिर दौडन जानेक्रममा भेटिएकासँग उनले काठमाडौंमा म्याराथन हुन लागेको थाहा पाइन् । त्यसपछि उनले आफूले पनि दौडमा भाग लिने सोचिन् । उनी दौडमा सहभागी भइन् र पहिलो हुन सफल भइन् । त्यतिवेला दौडमा सहभागी हुनका लागि मीरासँग आवश्यक खाना, जुत्ता केही पनि थिएन । तर, उनको क्षमतालाई यी सब चिजले रोकेन । हिमालयन आउटडोर म्याराथनमा पहिलो भएपछि उनको म्याराथन यात्रा सुरु भयो । यो म्याराथनमा मीराको क्षमता देखेर आयोजकसमेत रहेका ट्रेल रेस प्रशिक्षक रिचार्ड बलले अन्तर्राष्ट्रिय स्तरमा नेपालका तर्फबाट मीरालाई सहभागी गराउने प्रक्रिया थाले । रिचार्डको सहयोगमा उनको अन्तर्राष्ट्रिय म्याराथन यात्रा इटालीबाट सुरु भयो । इटालीमा भएको म्याराथनमा पहिलो भएपछि फ्रान्स, हङकङलगायतका देशमा सहभागी भएर उनले नेपालको नाम विश्वसामु चिनाइसकेकी छन् ।

लडाकु भएर नै धेरै कुरा सिक्न पाएँ

पारिवारिक गरिबी र अभावले माओवादीमा लागेकी मीरा त्यसवेलाको संघर्षले धेरै कुरा सिकाएको बताउँछिन् । उनको स्कुल जाने रहर पूरा हुँदैनथ्यो । ‘स्कुल जाने रहर हुँदाहुँदै पनि जान पाइँदैनथ्यो । कहिले घाँसदाउरा त कहिले गोठालो जानुपर्ने । त्यही भएर जनयुद्धमा हिँडेकी हुँ,’ उनले भनिन् । जनयुद्धमा लागेपछि नयाँ काम गर्न र सिक्न पाउने उनको आशा थियो । उनले भनिन्, ‘लडाकु हुँदा कडा मिहिनेत गर्न सिकेको कारण अहिले पनि जस्तोसुकै कठिन अभ्यास गर्न सक्छु । जसको कारण आज म यहाँ छु ।’ गुरुहरूको साथ र नेपालीको सहयोगले नै मीरा राईसँगै नेपालको नाम विश्वमा चिनाउन सकेको उनी बताउँछिन् । बहिर्गमित हुँदाको क्षण स्मरण गर्दै उनले यसलाई अवसरका रूपमा लिएको बताइन् । ‘अयोग्य भएर बहिर्गमित हुँदा साह्रै दुःख लागेको थियो । अहिले सम्झँदा नेपाल चिनाउने अवसरका लागि रहेछ जस्तो लाग्छ,’ उनी विगत सम्झिन्छिन् । घुँडामा चोट लागेका कारण अहिले सामान्य अभ्यास मात्र गरिरहेकी मीरा केही समयपछि कडा मिहिनेतसँगै प्रतियोगितामा भाग लिने बताउँछिन् ।

‘मैले बहिर्गमित लडाकु भएर पनि देशकै नाम चिनाउने अवसर पाएकी छु,’ मीरा भन्छिन्, ‘तर मसँगै बहिर्गमनमा परेका साथीहरूको अवस्था ज्यादै कठिन छ । उनीहरूको पनि सरकारले आवश्यक व्यवस्थापन गर्न जरुरी छ ।’

बहिर्गमितलाई व्यवस्थापन गर्नुपर्छ

‘मैले बहिर्गमित लडाकु भएर पनि देशकै नाम चिनाउने अवसर पाएकी छु,’ मीरा भन्छिन्, ‘तर, मसँगै बहिर्गमनमा परेका साथीहरूको अवस्था ज्यादै कठिन छ । उनीहरूको पनि सरकारले आवश्यक व्यवस्थापन गर्न जरुरी छ ।’ आफूले अन्तर्राष्ट्रिय सफलता पाएपछि सबैको स्नेह पाएकी छिन्  । ‘ओहो ! अस्तिसम्म सिँगान तान्दै हिँड्ने मीरा अब त संसारले चिन्ने भयो भनेर साथीहरू जिस्क्याउँछन् । व्यस्त समयका कारण उहाँहरूलाई भेट्न भने पाएकी हुँदिनँ,’ उनले हाँस्दै भनिन् ।

सुरुमा त नेपालीसमेत बोल्न गाह्रो हुन्थ्यो

कम बोल्ने भएका कारण वेलावेलामा समस्यामा पनि परेको मीराको अनुभव छ । भनिन्, ‘म सानैदेखि एकदम कम बोल्थेँ, नबोलेकै कारण नेपाली पनि राम्ररी बोल्न आउँदैनथ्यो । झन् विदेशमा जाँदा त अंग्रेजी बोल्नुपर्ने, मलाई आउँदैनथ्यो साह्रै गाह्रो भयो ।’ आफू साथीहरूसँग थोरै मात्र बोल्ने गरेका कारण उनलाई मासमा नेपाली बोल्नसमेत गाह्रो पथ्र्यो । अहिले भने उनी अंग्रेजी भाषा सिकिरहेकी छिन् । ‘अहिले त सामान्य अंग्रेजी बोल्न जान्ने भएकी छु । अब केही समयमा राम्रो अंग्रेजी बोल्न जान्ने हुनेछु, मैले नजानेको कुरालाई लाज मानिनँ, बरु अवसरका रूपमा लिएर सिकेँ,’ उनले भनिन् ।

मैले स्पेसल डाइट खाइनँ

उनले निरन्तर १४ घन्टासम्म मिहिनेत गरेको अनुभव सुनाइन् । कुनै पनि कठिन शारीरिक अभ्यास गर्नका लागि आवश्यक डाइट खान जरुरी हुन्छ । तर, उनको सवालमा त्यो सम्भव थिएन । उनीसँग पैसा भए पनि के खाने भन्ने कुरा पनि थाहा थिएन । उनका लागि अवसर नै मुख्य थियो । जसरी पनि जितेर देखाउनु थियो । खानेकुरामा उनलाई अघाए हुन्थ्यो । भन्छिन्, ‘मैले खास डाइट खाइनँ, दालभात, ढिँडो खाएर हुर्केको राईकी छोरी त्यसै बलियो भएर होला ।’ निरन्तरको दौडाइमा गाह्रो भएन भन्ने जिज्ञासामा उनले भनिन् ‘खाँदै रित्तो शरीर कुद्नु पनि के गाह्रो ? ठाउँ–ठाउँमा फलफूल राखिएको हुन्छ, झन् रमाइलो पो हुन्छ ।’

म निरन्तर साढे तेह्र घन्टासम्म दौडेको आमाबुवालाई विश्वास नै थिएन । कस्तो ठाउँमा कुद्छु भन्ने पनि थाहा थिएन । अस्ति डकुमेन्ट्री हेरेपछि बल्ल थाहा पाउनुभयो ।

आमाबुवालाई खुसी बनाउन चाहन्थेँ

दुःखमा जन्मेका कारण आमाबुवालाई खुसी बनाउन पाए हुन्थ्यो भन्ने मनमा लाग्ने गरेको मीराले बताइन् । सानो छँदा आफ्नी आमासँग धनकुटाको हिलेमा चामल, नुन, तेल बोक्न जाने गर्थिन् उनी । भारी बोकेर हिँड्दा थाक्दै गएपछि आमाको मलिन मुहार देख्दा ठूलो भएपछि आमाबुवालाई खुसी बनाउँछु भन्ने सोच्ने मीराले अहिले सम्पूर्ण नेपालीलाई नै गौरवान्वित बनाएकी छिन् । त्यसवेलाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘हिलेबाट आमा चामल बोक्नुहुन्थ्यो म नुन, तेल बोक्थेँ । उहाँ थाक्दै गएपछि साह्रै दुःख लाग्थ्यो । अनि ठूलो भएपछि आमाबुवालाई सुख दिन्छु, भारी बोकेर हिँड्न नपरोस् झैँ लाग्थ्यो ।’

फिल्म हेर्न समय हुँदैन कबड्डीचाहिँ हेरेँ

उनलाई फिल्मको विषयमा अरूले कुरा गरेको सुने पनि धेरै चासो लाग्दैन । लडाकु हुँदा हेटौँडामा साथीहरूसँग ‘सिलसिला’ भन्ने फिल्म हेरेको स्मरण गर्दै उनले भनिन्, ‘त्यसवेला फिल्म हेर्दा रमाइलो लागेको थियो, तर, म हिरो–हिरोइनसमेत चिन्दिनँ । फेसबुक चलाउँदा कतिपयले फिल्मको कुराहरू गरेको देखेकी छु, तर मलाई त्यति धेरै इन्ट्रेस्ट लाग्दैन ।’ दयाहाङ राईको विषयमा धेरै सुनेकीले उनले ‘कबड्डी’ भने हेरिन् ।

टिभीमा स्पोर्टस् च्यानल बढी हेर्छु

मीरा सितिमिति टिभी हेर्दिनन्, हेरिहाले पनि उनको रोजाइमा स्पोर्टस् च्यानल पर्ने गर्छ । उनी भन्छिन्, ‘टिभीमा रेसहरू धेरै दिँदैन, दिए हेरिहाल्छु नत्र फुटबल हेर्छु ।’ उनलाई मनपर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । नेपाली फुटबलरमा पहिले जुमानु राई, अनिल गुरुङ मनपर्ने मीरालाई अहिले विमल घर्ती, नवयुग श्रेष्ठ मन पर्छन् । क्रिकेटमा भने उनलाई पारस खड्काको खेल निकै मनपर्छ ।

आफैँ मात्र खेल्दिनँ, अरूलाई पनि सिकाउँछु

उनको आफूजस्तै महिलाहरूको प्रशिक्षक बन्ने सपना छ । ‘अब मजस्ता बहिनीहरूको प्रशिक्षकका रूपमा भूमिका खेल्छु । अस्ति भर्खर जुम्लाका बहिनीहरूको प्रशिक्षक बनेर हङकङ गएँ, त्यहाँ उनीहरूले सफलता प्राप्त गरे,’ उनले भनिन् । म्याराथन यात्राको विषयमा उनका प्रशिक्षक रिचार्ड बलले डकुमेन्ट्री बनाएका छन् । जुन २०१७ मा विभिन्न ४० वटा देशहरूमा किशोरकिशोरीलाई प्रोत्साहनका लागि प्रदर्शन गर्ने तयारी रहेको उनले बताइन् ।

सपनामा पनि स्कुल गएको देख्छु

मीराले देशको नाम राखेको भनेर सुनिरहेका उनका आमाबुवालाई उनको दौडबारे थाहा थिएन । उनले भनिन् ‘म निरन्तर साढे तेह्र घन्टासम्म दौडेको उहाँहरूलाई विश्वास नै थिएन । कस्तो ठाउँमा कुद्छु भन्ने पनि थाहा थिएन । अस्ति डकुमेन्ट्री हेरेपछि बल्ल थाहा पाउनुभयो ।’ उनले अहिले भाइबहिनीलाई समेत पढाइरहेकी छिन् । ‘मैले पढ्न नपाए पनि भाइबहिनीलाई पढाइरहेकी छु । यसमा म खुसी छु,’ उनले भनिन्, ‘मलाई अझै पढ्न मन लागे पनि व्यस्तताका कारण पाएकी छैन । कडा परिश्रम गर्नुपर्ने भएकाले मन भए पनि सम्भव छैन । पढ्ने रहर भएर होला सपनामा पनि स्कुल गएको देख्छु ।’

सरकारले सहयोग गर्नुपर्‍यो

आज मीरा राईको साथमा देशको नाम जोडिनुमा गुरु र सम्पूर्ण नेपालीको सहयोग भएको उनी बताउँछिन् । ‘अन्य देशमा राज्यको सहयोग हुन्छ र खेलाडीको सम्पूर्ण समय खेलमा नै केन्द्रित हुन्छ । तर, मेरो सवालमा भने त्यो छैन,’ उनले भनिन् । उनलाई खेलेर मात्र जीवन चल्छ भन्ने विश्वास नै छैन । आफूलाई देशविदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरिरहेको उनले बताइन् । बेलायत निवासी नेपालीले राष्ट्र राईको अगुवाइमा २८ लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् । जुन पैसाले उनले भाइबहिनीलाई पढाउनुका साथै झापामा कुखुरा फार्म चलाइरहेकी छिन् । उनले भनिन्, ‘मलाई सरकारले पाँच लाख दिएको छ । जुन मेरो उपचार गर्न पनि पुगेन । नेपाली जनताको सहयोग नभएको भए मेरो खेलजीवन पनि सकिन सक्थ्यो । तर, सबैको मायाले अहिले सम्भव भयो ।’ सरकारले आफूजस्ता राष्ट्रका लागि केही गर्नेको संरक्षण गर्नुपर्ने उनले बताइन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167