Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौँ, माघ २५ गते । पाँचवटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमा मात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्न सम्भव भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको स्वामित्वमा रहेका काली गण्डकी ‘ए’, मस्र्याङ्दी, मध्य मस्र्याङ्दी, कुलेखानी पहिलो र दोस्रोलाई साँझको समयमा पूर्ण क्षमतामा सञ्चालन गरेको छ । ती आयोजनामध्ये काली गण्डकी ‘ए’ १४४ मेगावाट क्षमताको हो ।
दिनभर पानी जम्मा गर्ने र साँझको समयमा मात्रै आयोजना सञ्चालन गर्दा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ । “पिकिङ रन अफ रिभर आयोजनालाई पूर्ण क्षमतामा चलाएका छौँ, साँझको समयमा विद्युत् आपूर्ति गर्न सहज भएको छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो ।
यस्तै ७० मेगावाट क्षमताको मध्य मस्र्याङ्दी, ६० मेगावाटको मस्र्याङ्दी, ६० मेगावाटकै कुलेखानी पहिलो र ३० मेगावाटको कुलेखानी दोस्रोबाट विद्युत् निरन्तर रुपमा उत्पादन गरिएको छ ।
नदीमा जलसतह घट्दै जाँदा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल अन्य आयोजनाबाट आन्तरिक उत्पादन ३५० मेगावाट मात्रै रहेको छ । तर साँझको समयमा प्राधिकरणले हाल दैनिक ९९० मेगावाट विद्युत् प्रवाह गराइरहेको छ । भारतबाट आयात भएको ३८० मेगावाट विद्युत् जोडिएको छ । कुल ३६६ मेगावाट अपुग हुँदासमेत व्यवस्थापन गरेर विद्युत् सहज रुपमा उपलब्ध गराइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदको समयमा नदीमा जलस्तर घटेको र उत्पादनसमेत घटिरहेको अवस्थामा साँझको समयमा काठमाडौँ उपत्यकाको विद्युत् मागमात्रै ३१५ मेगावाट रहेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार कुल मागमध्ये दुई तिहाइभन्दा बढी माग काठमाडौँ उपत्यकामा नै हुने गर्दछ ।
प्राधिकरणले काठमाडौँ उपत्यकाबाहेक अरु क्षेत्रमा समेत विद्युत्भार कटौतीलाई आधारभूत रुपमा अन्त्य गरेको छ । औद्योगिक करिडोरमा भने साँझ चार घन्टा दैनिक विद्युत्भार कटौती गरिएको छ ।
खिम्ती–ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएपछि काठमाडौँको विद्युत् व्यवस्थापन गर्न सहज भएको प्राधिकरणको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले औद्योगिक क्षेत्रले सहज रुपमा विद्युत् पाउँदा रु २० अर्ब बराबरको बचत भएको जानकारी दिनुभयो । उहाँले व्यवस्थापनलाई थप सुदृढ बनाउन र प्राधिकरणलाई अत्यावश्यक सहयोग गर्न उद्योगी तथा व्यवसायीसमेत तयार रहेको बताउनुभयो ।
चुहावट तीन प्रतिशत कम
प्राधिकरणले सञ्चालन गरेको विद्युत् चुहावट अभियान सार्थक रुपमा अगाडि बढ्दा हाल तीन प्रतिशतको हाराहारीमा चुहावट नियन्त्रण गर्न सफल भएको जनाएको छ ।
मङ्सिर र पुसमा तीन प्रतिशत चुहावट नियन्त्रण गरिएको छ । गत साउनदेखि हालसम्म औसतमा दुई प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको र नियन्त्रण अभियानलाई निरन्तर अगाडि बढाएर चालु आवको अन्त्यसम्म ३.५ प्रतिशत विद्युत् चुहावट कम गर्ने लक्ष्य राखिएको छ । एक प्रतिशत मात्रै विद्युत् चुहावट नियन्त्रण गर्न सकिए रु ५० करोड बराबरको बचत प्राधिकरणलाई हुने घिसिङको भनाइ छ ।
प्राधिकरणले पछिल्लोपटक मात्रै २० हजार विद्युत् चोरीमा संलग्नलाई कारबाही गरेको छ । त्यसले पनि सकारात्मक सन्देश दिएको छ । हुकिङ गरेर विद्युत् चोरी गर्नेलाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।
हुकिङ नियन्त्रण अभियान अगाडि बढाएको प्राधिकरणले औद्योगिक करिडोरमा हुने प्राविधिक चुहावट नियन्त्रण अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ ।
उद्योगमा पावर बैंक राख्न आग्रह
प्राधिकरणले भोल्टेजमा हुने उतार चढावलाई नियन्त्रण गर्न पावर बैंक राख्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । प्रसारण लाइन, ट्रान्सफर्मर तथा भारतबाट आयात गरिएको विद्युत्मा कहिलेकाहीँ भोल्टेज तलमाथि हुँदा उद्योगले समस्या व्यहोरेपछि पावर बैंक राख्ने अवधारणा अगाडि सारिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले केही उद्योगले पावर बैंक राख्न सुरु गरेको बताउनुभयो ।
यस्तै प्राधिकरणले भोल्टेजलाई समान बनाउन सवस्टेसन तथा ट्रान्सफर्मरहरुमा समेत ‘स्टेपलाइजर’ राख्न सुरु गरेको छ । स्वच्छ ऊर्जा प्रदान गर्न त्यस प्रकारको उपकरणले सहयोग गर्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनुभयो । रासस
No comments:
Post a Comment