कहिल्यै सौहार्द हुन सकेन पशुपतिशमशेर र कमल थापाको सम्बन्ध - newsallabc.com

Breaking

Saturday, February 11, 2017

कहिल्यै सौहार्द हुन सकेन पशुपतिशमशेर र कमल थापाको सम्बन्ध

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्ष कमल थापा अहिले एकता महाधिवेशनको तयारीमा जुटेका छन् । ६–९ फागुनमा हुने महाधिवेशनमा दुवै अध्यक्षका आकांक्षी पनि हुन् । राणा र थापाले तीन दशकभन्दा बढी सँगसँगै राजनीति गरे पनि दुवैको सम्बन्ध कहिल्यै सौहार्द भएन । तैपनि उनीहरू कहिले एउटै त कहिल्यै फरक पार्टीमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । दुई राप्रपा एक भएपछि राष्ट्रिय अध्यक्ष बनेका राणाले सहमतिअनुसार डा. प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी सुम्पेका छन् । तर, आगामी महाधिवेशनमा राणा पुनः अध्यक्ष बन्ने प्रयासमा लागेका छन् ।

फरक पृष्ठभूमिका राणा र थापा 
राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले पञ्चायती शासनकालमा बौद्धिक नेताको छवि बनाएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेर नेपाल फर्केका उनले २०२४ सालतिर स्थानीय विकास मन्त्रालयमा केही समय काम गरे । प्रधानमन्त्री सूर्यबहादुर थापाले राणासहित करारमा कार्यरत केही कर्मचारीलाई जागिरबाट हटाएपछि उनले २०२८ सालमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्रका रूपमा सेडा स्थापना गरे । सेडाका संस्थापक डाइरेक्टर रहेका राणा निर्देशकको कार्यकाल सकिएपछि राजनीतिमा आएका हुन् । २०३२ सालमा वनमन्त्री नेत्रविक्रम थापाको सहयोगमा उनी सिन्धुपाल्चोकमा राष्ट्रिय पञ्चायतको उम्मेदवार बने । राणा निर्वाचित भए पनि नेत्रविक्रम थापा भने रापसको चुनाव पराजित भएको राप्रपा नेता वसन्तमानसिंह अधिकारी बताउँछन् । राणा २०३५ सालमा शिक्षा राज्यमन्त्री भए । २०३८ सालमा सुधारिएको पञ्चायतका लागि उनी सिन्धुपाल्चोकबाट निर्वाचित भएका थिए ।
निरन्तर सिन्धुपाल्चोकबाट राजनीति गरेका राणा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने पराजित भए । तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरका नाति पशुपति पञ्चायतकालमा दरबारको ‘प्यारो’ भने हुन सकेनन् । दरबारले पूर्णतः विश्वास नगरेका पशुपतिका बाबु विजयशमशेर भारतका लागि राजदूत थिए । राजनीतिक पृष्ठभूमिबाट आएका राणा प्राज्ञिक नेताका रूपमा चिनिन्छन् ।
राप्रपा अध्यक्ष कमल थापाको पारिवारिक पृष्ठभूमि सैनिक र खेलाडी हो । थापाका बुबा आर्मीको कर्णेल थिए भने थापा आफैँ फुटबल खेलाडी थिए । उनी टेनिस खेलाडी पनि हुन् । थापा काठमाडाैँ खेल मण्डलको टिमबाट फुटबल खेल्थे । दरबारले नै उनलाई विद्यार्थी संगठनतिर तानेको थियो । त्यतिवेला उनी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध थिए । विद्यार्थी मण्डलको पहिलो अध्यक्ष पदम ठकुराठी थिए भने दोस्रो अध्यक्ष कमल थापा भए । मण्डलमा निरञ्जन थापासमेत आबद्ध थिए ।
थापा पछि ‘गाउँ फर्क अभियान’को नारायणी अञ्चल सदस्यसमेत थिए । राष्ट्रिय पञ्चायतको निर्वाचनमा पराजित भएका थापा युवक संगठनको केन्द्रीय सभापतिमा निर्वाचित भएका थिए । जनमतसंग्रहभन्दा अगाडि राजनीतिक छवि निर्माण गरेका थापा दरबारको प्रभावमा २०३७ सालपछि संविधान सुधार गर्न पञ्चायतले गठन गरेको ‘संविधान सुधार सुझाव आयोग’को सदस्यसमेत भएका थिए । २०३८ सालको राष्ट्रिय पञ्चायतमा पराजित थापा २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । उनी मरिचमान सिंह प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री भएका थिए ।
थापाभन्दा पशुपति वरिष्ठ
राणा राजनीति र प्राज्ञिक अभ्यासमा थापाभन्दा वरिष्ठ हुन् । २०३३ सालपछिको राजनीतिक समीकरण निर्माणमा राणा सक्रिय रहन्थे । प्रधानमन्त्री फेरबदलसम्ममा भूमिका खेल्थे, तर थापा त्यस्तो भूमिकामा थिएनन् । थापा राणाभन्दा जुनियर भएका कारण पनि सत्ता समीकरणमा सक्रिय नहुने गरेको थापा निकटहरूको भनाइ छ । बहुदल कालमा पनि राणाले सधैँ सिनियरका रूपमा काम गरे ।
सूर्यबहादुरको पक्षमा थापा 
२०३६ सालको जनमतसंग्रहका वेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । त्यतिवेला तराईमा व्यापक जंगल फँडानी भएको थियो । सूर्यबहादुरले जंगल फँडानी गरेर अनियमितता गरेको आरोप लगाउने समूहको नेतृत्व राणाले गरेका थिए । सूर्यबहादुरहरूको चर्को आलोचना गर्नेमा राणा समूहमा डा.प्रकाशचन्द्र लोहनी, हेमबहादुर मल्ल, पद्मसुन्दर लावतीहरू थिए । उनीहरूलाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साथ दिएका थिए । यो क्रम पञ्चायतको उत्तराद्र्धमा उत्कर्षमा पुगेको थियो । २०४० सालमा राणा, लोहनी, मल्लहरूको असहयोगकै कारण सूर्यबहादुरको सरकार ढल्यो । र, चन्दको नेतृत्वमा सरकार बन्यो । चन्द सरकारमा गृहमन्त्री पद्मसुन्दर लावती र स्थानीय विकासमन्त्री राणा भए । यी सबै घटनामा कमल थापा भने सूर्यबहादुरकै पक्षमा थिए ।
‘भूमिगत गिरोह’को सदस्य थापा 
पञ्चायतकालमा ‘भूमिगत गिरोह’ भन्ने एउटा चर्चित समूह सक्रिय थियो । तर, त्यसबारे सबैलाई धेरै जानकारी हँुदैनथ्यो । त्यही गिरोहको सदस्यका रूपमा कमल थापाले काम गर्ने गरेको पञ्चायत राजनीतिमा सक्रिय नेताहरूको भनाइ छ । खासगरी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापानिकट रहेर काम गरेका कमलले दरबारसँग पनि सम्बन्ध बनाएका थिए । दरबारनिकट शरद्चन्द्र शाहसँग राम्रो सम्बन्ध बनाएका कमलले उनीमार्फत तत्कालीन राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहसँग सम्बन्ध विस्तार गरेका थिए । यो भूमिगत गिरोहमा शरद्चन्द्र शाहहरूको समेतसाथ थियो ।
अनि उदाए थापा 
२०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । त्यतिवेला राणा सिन्धुपाल्चोकबाट निर्वाचित भए । त्यसको केही समयपछि मरिचमान सिंहको नेतृत्वमा सरकार बन्यो । सिंह मन्त्रिपरिषद्मा राणा अटाएनन् । र, मन्त्री बन्ने पहिलो अवसर पाए थापाले । उनी सञ्चार राज्यमन्त्री भएका थिए । मन्त्री भएपछि उनले कलाकार, पत्रकार र वकिललाई एक लाइन टेलिफोन सेवा उपलब्ध गराएका थिए । सिंह नेतृत्वको सरकार परिवर्तनपछि २५ चैत २०४६ मा पुनः चन्द नेतृत्वको सरकार गठन भयो । सो सरकारमा राणा जलस्रोतमन्त्री थिए । राणा र थापा पञ्चायतकालमा मन्त्री बने पनि एउटै मन्त्रिपरिषद्मा बसेर सँगै काम गर्ने अवसर भने जुटेन ।
बहुदलपछि पनि फरक कित्ता
पूर्वपञ्चहरूले २०४६ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा पार्टी स्थापना गरे । पञ्चायतकालदेखि नै फरक गुटमा काम गरेका उनीहरू नयाँ पार्टी गठन गर्दा पनि एक हुन सकेनन् । १५ जेठ २०४७ मा एकै दिन राप्रपा चन्द र राप्रपा थापा नामका दुई पार्टी स्थापना भए । खासमा पूर्वपञ्चहरूको एउटै पार्टी खोल्ने तयारी थियो र पार्टीको नाम पनि राप्रपा भनेर निर्णय भइसकेको थियो । तर, निर्वाचन आयोगमा पहिले नै सूर्यबहादुर थापा अध्यक्षको नाममा (राप्रपा थापा) दर्ता भयो । त्यसै दिन लोकेन्द्रबहादुर चन्द अध्यक्ष रहेको (राप्रपा चन्द) दर्ता भयो । चन्द समूहको राप्रपाको महामन्त्री राणा भने थापा समूहको राप्रपाको प्रवक्तामा थिए कमल थापा ।
टुटफुटमा राप्रपा
राप्रपाका नेताहरू पञ्चायतकालदेखि नै टुटफुट र षड्यन्त्रमा लागेका थिए । त्यो २०४६ सालपछि पनि निरन्तर रह्यो । जसका कारण पूर्वपञ्चहरूको पार्टी निरन्तर टुटफुटबाट गुज्रिरह्यो । व्यक्तिगत टकराव र सत्ता राजनीतिले विभाजन र शत्रुतापूर्ण व्यवहार खुलेआम हुन थाल्यो राप्रपामा । २०४८ सालको संसदीय चुनावमा दुवै राप्रपा कमजोर भए । राजनीतिक दलसम्बन्धी ऐनमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था उल्लेख गरिएको थियो । दुवै दलले ३ प्रतिशत मत भने ल्याए । राणा सिन्धुपाल्चोकबाट निर्वाचित भए । तर, थापा समूहबाट भने दार्चुलाबाट अकबरबहादुर सिंह मात्रै निर्वाचित भए । कमल थापा मकवानपुरमा पराजित भए ।
निर्वाचनमा नराम्रो हार व्यहोरेपछि दुवै राप्रपा एकताको पक्षमा लागे । २०४९ सालमा दुवै पार्टी एक भएर राप्रपा बन्यो । एकतापछि २०५१ सालको मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्योे । राणा र थापा आ–आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आए । तेस्रो दल बनेको राप्रपा सरकार निर्माणमा खेलाडी दलको रूपमा देखा पर्‍यो । तर, त्यही सत्ताले राप्रपालाई विभाजनमा पुर्‍यायो । एमालेका नेता मनमोहन अधिकारी नेतृत्वको सरकार गिराएर कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै राप्रपा सत्तामा पुग्यो । देउवा सरकारमा कमल थापा स्थानीय विकासमन्त्री भए ।
देउवा सरकार ढालेर २०५४ सालमा एमालेको सहयोगमा राप्रपा नेता चन्दको नेतृत्वमा सरकार बन्यो । लामो समय राप्रपाको राजनीतिमा लागेका सर्वेन्द्रनाथ शुक्लाका अनुसार त्यतिवेला थापा स्थानीय र परराष्ट्रमन्त्री भए । पछि कांग्रेससँग मिलेर राप्रपाकै सूर्यबहादुरको नेतृत्वमा सरकार बन्यो ।
अनि फेरि फुट्यो राप्रपा
विवादका बीच २०५४ साल फागुनमा फेरि राप्रपा फुट्यो । विभाजनपछि सुरुमा नयाँ राप्रपा नाम दिइएकोमा पछि राप्रपा चन्द नाम राखेको राप्रपाका नेताहरूको भनाइ छ । २०५६ सालको आमनिर्वाचनमा राप्रपा चन्द समूहले एक सिट पनि जित्न सकेन । तर, थे्रसहोल्डअनुसार ३ प्रतिशत मत ल्याएर राष्ट्रिय दलको हैसियत भने कायम राख्यो । थापा समूहबाट भने त्यतिवेला ११ जनाले जितेका थिए । निर्वाचनबाट कमजोर बनेपछि २०५७ सालमा फेरि एकता भयो । दुई वर्षसम्म एकता टिके पनि २०५९ सालपछि पुनः विवाद सुरु भयो ।
१८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकार विघटन गरे । र, चन्द प्रधानमन्त्री बने । त्यसवेला सूर्यबहादुर राप्रपा अध्यक्ष थिए । राजाको सो कदमलाई ‘सूर्यबहादुरनिवास मालीगाउँको बैठकले परिस्थितिजन्य’ भनेर निर्णय ग¥यो । तर, चन्दलाई सहयोग गर्ने निर्णय भएन । त्यसवेला थापा समूहमै थिए कमल थापा पनि ।
ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि कमल थापाको ‘यु टर्न’
१९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले पुनः देउवा नेतृत्वको सरकारलाई अक्षम भनी अपदस्थ गरी मुलुकको शासन हातमा लिए । राजाको सो कदमलाई राप्रपाबाट स्वागत गराउने प्रयास भयो । तर, अध्यक्ष राणा र पूर्वअध्यक्ष सूर्यबहादुर दुवै यसको विपक्षमा उभिए । त्यतिवेला कमल थापा भने दरबारको पक्षमा लागे । २६ र २७ पुस २०६२ मा काठमाडौंमा विशेष भेला बोलाएर राप्रपाको अध्यक्ष कमल थापा भएको घोषणा गरियो ।
२६ पुस २०६२ मा कमल थापाले विशेष महाधिवेशन बोलाएर मौजुदा केन्द्रीय सदस्यको बहुमतका साथ राप्रपा नेपाल पार्टीलाई जन्म दिए । उता, सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी बनाए । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले ८, राप्रपा नेपालले ४ र जनशक्तिले ३ सिट प्राप्त गरे । त्यसपछि राप्रपा नेपालले हिन्दू धर्मको मुद्दालाई प्रमुख बनायो । राप्रपा भने आन्तरिक विवादमै रुमल्लियो । २०६९ सालमा जनशक्ति र राप्रपाबीच एकीकरण भयो । सूर्यबहादुरले पशुपतिलाई नेतृत्व दिए । ६-६ महिना आलोपालोमा गए, तर चन्दको पालोमा नपुग्दै विवाद आयो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले समानुपातिकमा २५ सिट प्राप्त ग¥यो । राप्रपाले तीन प्रत्यक्षसहित १३ सिट जित्यो । सूर्यबहादुरको निधनपछि उनीहरूबीच समझदारी भयो ।
राणा र थापाबीच सधैँ तिक्ततापूर्ण सम्बन्ध
राणा र थापाबीच कहिल्यै सौहार्दपूर्ण सम्बन्ध भएन । वरिष्ठ भएकाले राणा थापालाई कमै वास्ता गर्दथे । २०५४ सालमा चन्द नेतृत्वको सरकारमा थापालाई शक्तिशाली मन्त्री बनाएर सूर्यबहादुरले पठाएपछि राणा आक्रोशित भएका थिए । यही घटनाले राणा र थापाबीच सम्बन्धमा चिसोपन आउन थालेको हो ।
२०५६ सालमा सूर्यबहादुर अध्यक्ष र महामन्त्री थिए कमल थापा । २०६० सालमा चन्द प्रधानमन्त्री हुँदा पोखरामा महाधिवेशन भयो । महाधिवेशनबाट नेतृत्वमा राणा पुगे । त्यतिवेला सूर्यबहादुर प्रधानमन्त्री र कमल थापा परराष्ट्रमन्त्री थिए । राणाले पार्टी सरकारबाट फिर्ता हुनुपर्छ भन्ने अडान लिए । तर, सूर्यबहादुरले अस्वीकार गरेपछि पार्टीमा महाामन्त्रीसमेत रहेका कमल थापालाई राणाले कारबाही गरी बर्खास्त गरे । सरकारविरुद्ध राणा सडकमा आएपछि सरकार ढल्यो । सरकार ढलेपछि सूर्यबहादुर राप्रपामा फर्किएर गएनन् । थापाले बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे । सो समितिमा कमल थापा, डा.प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङसहितका नेता सहभागी थिए । तर, कमल थापाले निरन्तता दिएनन् । बीचमै छाडेर उनी राणा नेतृत्वको राप्रपामा महामन्त्री बन्न पुगे । १९ माघ २०६१ को राजा ज्ञानेन्द्रको कदमलाई कमल थापाले समर्थन गरे । त्यसपछि उनी कारबाहीमा परे । कारबाहीमा परेका थापा २०६२ मंसिरमा राजाको सरकारको गृहमन्त्री बने ।
थापा अनुदार खेमाका
कमल थापालाई पञ्चायतमा अनुदार पक्षका रूपमा लिइन्थ्यो । दरबारका शरद्चन्द्र शाहसँग राम्रो सम्बन्ध भएका कारणले थापालाई दरबारनिकट भनेर चिनिने गरेको तमलोपा नेता शुक्लाको भनाइ छ । ‘खासमा कमल थापा पावरहंग्री, महत्वाकांक्षी र अवसरवादी हुन्,’ शुक्लाले भने ।
प्रजातन्त्रवादी राणा 
दरबारसँग राम्रो सम्बन्ध नभएका राणालाई प्रजातन्त्रवादी नेताका रूपमा चिनिन्छ । पञ्चायतकालमा चन्द समूहलाई अनुदारवादी पक्ष मानिन्थ्यो । र, सोही समूहमा थिए राणा पनि । तर, पशुपतिशमशेर आफैँ भने प्रजातन्त्रवादी पक्ष देखिने गरेको शुक्लाको भनाइ छ । सोही कारण उनलाई भारतीय लबीको नेता भनेर आरोपित गर्ने गरिएको उनले बताए ।
थापाको छवि संगठक र वाकपटुता 
कमल थापा पार्टीभित्र संगठकका रूपमा चिनिन्छन् । र, उनमा वाकपटुता क्षमता पनि छ । थापालाई निर्णय क्षमता भएका नेताका रूपमा चिन्ने गरिन्छ । थापालाई संगठक, वाकुपटता र निर्णय क्षमता भएका नेताका रूपमा लिनुपर्ने राप्रपाका सहप्रवक्ता किरण गिरीको भनाइ छ ।
राणामा निर्णयक्षमता कमजोर
राणाले राप्रपामा करिब १५ वर्ष पार्टी अध्यक्ष भएर नेतृत्व लिए । १ मंसिर २०६० मा पोखरा महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनले २०७३ सालसम्म निरन्तर पार्टी अध्यक्षका रूपमा नेतृत्व गरे । तर, पार्टीलाई निर्णायक रूपमा प्रस्तुत गर्न नसकेको भन्दै उनलाई निर्णय क्षमता कमजोर भएको आरोप लगाइयो । राणाले आफ्ना सहयोगीहरूको सल्लाहका आधारमा निर्णय लिने गरेको राप्रपाका नेताहरूको भनाइ छ । राप्रपाका पुराना नेता शुक्लाअनुसार राणाको बौद्धिकताबाट प्रभावित भएर नै कृष्णप्रसाद भट्टराईले उनलाई अन्तरिम सरकारमा मन्त्री बनाउने प्रयास गरेका थिए ।
राणाविरुद्ध थापाको आक्रोश 
२५ साउन २०७३ मा राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति थियो । एकताको पक्षमा राणा र थापाले संयुक्त हस्ताक्षर गरेका थिए । सहमतिपत्रमै २५ साउनमा एकता गर्ने मिति तोकिएको थियो । तर, २४ साउनमा राणाले एकाएक विज्ञप्ति जारी गरेर तत्काल पार्टी एकता नहुने घोषणा गरे । २५ गते नयाँबानेश्वरको इन्द्रेणी फुडल्यान्डमा पत्रकार सम्मेलन गरी थापाले भारतीय प्रभावमा राणाले पार्टी एकता भाँडेको आरोप लगाए ।
६ मंसिरमा पार्टी एकता 
२५ साउन २०७३ मा एकाएक भाँडिएको दुई राप्रपाबीच ६ मंसिर २०७३ मा एकता भयो । दुवै पक्षले कमजोर महसुस गरेपछि एकताका लागि तयार भएका हुन् । सौहार्दपूर्ण सम्बन्ध नभए पनि राजनीतिक मुद्दाले नजिक बनाएपछि एकता भएको राप्रपा नेताहरूको भनाइ छ । राणा राष्ट्रिय अध्यक्ष र पार्टी अध्यक्ष कमल थापा हुने गरी एकता भयो । हिन्दू धर्म र संघीयताको मुद्दामा दुवैबीच समान धारणा थियो । तर, राजतन्त्रको सन्दर्भमा भने फरक धारण छ । यो मुद्दा आउँदो महाधिवेशनबाट टुंगो लगाउने दुई नेताबीच सहमति भएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167