Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं । अमेरिकाबाट फर्केर नेपालमा राजनीति गर्न कस्सिएका दर्शन रौनियार अन्ततः राजावादीहरुको संसर्गमा पुगेका छन् । राजसंस्थाको वकालत गर्दै आएका नेता केशरबहादुर विष्टले अगुवाइ गरेको नयाँ राजनीतिक शक्तिको भेलामा बिहीबार रौनियारले निकै कडा भाषण गरे ।
कमल थापासँग मतभेदपछि राप्रपा नेपालबाट बाहिरिएका विष्टले ‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ सुरु गरेका छन् । उक्त अभियानमा परोक्षरुपमा संलग्न भएका छन् रौनियार ।
राजधानीको एउटा पार्टी प्यालेसमा विहीबार राजावादीहरुको भेला आयोजना गरिएको थियो । खचाखच हलभित्र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरमुनि उभिएर रौनियारले आफ्नै वर्णनबाट भाषण सुरु गरे ।
‘म १६ हजार किलोमिटर टाढा अमेरिकाबाट आएको छु । यो भद्रगोल अवस्थामा पुगेको देशलाई सम्हाल्न र समृद्ध बनाउन (मजस्तै) नयाँ र दुरदर्शी नेताको खाँचो छ । त्यसैले म आज तपाईंहरुसमक्ष उपस्थित भएको हुँ,’ रौनियारले भने ।
२८ वर्ष अगाडि ‘बाध्यताको कारणले’ आफू अमेरिका गएको उनले बताए । आफ्नो परिवारको भविष्यका निम्ति विदेशिएको उल्लेख गर्दै रौनियारले सुरुवाती दिनमा अमेरिकामा भाँडा माझेको स्मरण सुनाए ।
उनले अगाडि भने, ‘मैले सुरुमा भाँडा माझेँ । अनि मिहिनेत गरेर इन्जिनियरिङ सिध्याएँ । र, आफ्नै व्यवसाय सुरु गरेँ । अमेरिकीलाई काममा लगाएँ । त्यसपछि म राजनीतिमा होमिएँ । २००८ को राष्ट्रपति निर्वाचनमा बाराक ओबामालाई सघाएँ । त्यसपछि डेमोक्रेटिक पार्टीमा सक्रिय रुपमा लागेर तल्लो तहबाट चुनाव जित्दै केन्द्रीय तहसम्म पुगेँ । डेमोक्रेटिक नेसनल कन्भेन्सनमा पुग्ने पहिलो नेपालीको रेकर्ड राखेँ । र, २०१२ सालमा संसदको टिकटका लागि डेमोक्रेटिक पार्टीभित्र चुनाव लडेँ ।’
अमेरिकामा नेपाललाई चिनाउन आफूले भूमिका खेलेको रौनियारले दाबी गरे । उनले भने, ‘अमेरिकी संसददेखि ह्वाइट हाउससम्मका व्यक्तिहरुले नेपाल भनेको कहाँ पर्छ भनेर सोध्थे । मैले उनीहरुलाई नेपाल चिनाएँ । सगरमाथा र गौतम बुद्ध भारतको होइन, नेपालको हो भनेर बुझाएँ ।’
यति सुनाइसकेपछि रौनियारले नेपालको दुरावस्थाको विश्लेषण गरे । आफू चार वर्षदेखि नेपालमा नियमित आइरहेको र देशको अवस्थालाई नजिकबाट हेरिरहेको उनले बताए । ‘अरु देश कहाँ पुगिसके, हामी जहाँको त्यहीँ छौं,’ रौनियारले भने, ‘अरु देश विकास र समृद्धिको कुरा गर्छन्, हामी भने ६५ वर्षदेखि राजनीतिक संघर्षमै रुमल्लिइरहेका छौं ।’
‘पञ्चायत हट्यो, बहुदल आयो, तर जनताले के पाए ? जनयुद्धका नाममा १७ हजार मानिस मरे । तर, के पायो देशले ?’ उनले भने- ‘देशमा स्थिरता नहुँदा एक चौथाई नेपालीहरु विदेशमा गएर रगत पसिना बगाउनु परिरहेको छ । हाम्रा दाजुभाइहरु खाडीमा मरिरहेका छन् । दिदीबहिनीहरु बिरानो देशमा बलात्कृत भइरहेका छन् ।’
भाषण गर्दागर्दै रौनियार अलिकति कड्किए- ‘हामी आफूलाई वीर नेपाली भन्छौं । केको वीर नेपाली ? केको गोर्खाली ? खोई जनता उठेको ?’
फेरि उनी अमेरिकातिरै फर्किए- ‘अमेरिका त्यसै बनेको होइन साथीभाइ ! नेपालमा ५५ झ्याले दरबार भन्ने देश निर्माण हुँदा अमेरिका भन्ने देश नै थिएन । अहिले त्यही दरबारको संरक्षण गर्न अमेरिकाबाट पैसा आउँछ । के यो लज्जास्पद होइन ? म यही खट्केर नेपाल आएको छु । अब अति भो । टु मच । इनफ इज इनफ ।’
रौनियारले त्यसपछि जातजाति र संघीयताका कुरा झिके ।
‘म जन्मिँदा एक सय ३० वटा जनजाति थिए । १२६ वटा भाषा थिए । सानो मुलुकमा यति धेरै विविधताका बीच सबै दाजुभाइ-दिदीबहिनी मिलेर बसिरहेका थियौं । अहिले जातजातिको कुरा कसरी आयो ? म एक नेपाली मात्र थिएँ २८ वर्ष अगाडि । तर, आज मलाई मधेसी भन्छन् । म त पहिले नेपाली हुँ ।’
‘मधेस भन्ने कुरै थिएन पहिले । तराईवासी थिए । हिमालवासी थिए । पहाडवासी थिए । उनीहरु सबै नेपाली थिए । यो डिभाइड एन्ड रुल हो ।’
अब यो देशलाई राजनीतिक स्थिरता आवश्यक रहेको रौनियारले बताए । त्यसका लागि प्रत्यक्षरुपमा राष्ट्र प्रमुख चुन्न पाउने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो । साथै उनले समानुपातिक निर्वाचन प्रणाली पूर्णरुपमा खारेज गर्नुपर्नेमा जोड दिए ।
‘समानुपातिकका नाममा करोडौं रुपैयाँ दिएर संसद बनेका छन् । फटाहा र लुटेराहरुले देश चलाइरहेका छन् । अनि यस्ताले संविधान दिने हामीलाई ? यस्ताले सिकाउने ?’ उनले प्रश्न गरे ।
रौनियारले संघीयताको खुलेरै विरोध गरे । संघीयताले देश टुक्र्याउने उनको धारणा थियो । यसैगरी उनले धर्मनिरपेक्षता खारेज गरेर हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गरे ।
‘हिन्दूराष्ट्र हाम्रो पहिचान हो । आफ्नो पहिचान गुमाउनुभयो भने तपाईंलाई कसैले पनि चिन्दैन,’ उनले भने ।
आगामी माघ ७ गतेबाट संसदको म्याद सकिने भन्दै उनले त्यस दिन १२ बजेपछि सांसदहरुलाई संविधानसभाबाट लखेट्नुपर्ने बताए ।
No comments:
Post a Comment