चितवन चिनाउने चरा - पर्यटकीय हब चितवन - - newsallabc.com

Breaking

Sunday, February 12, 2017

चितवन चिनाउने चरा - पर्यटकीय हब चितवन -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


नेपालको मध्यभागमा पर्छ, चितवन। देशको पूर्व-पश्चिम गर्नेहरूका लागि पनि खास पायक पर्ने ठाउँ हो चितवन। मानिसलाई जसरी पायक पर्छ; चरालाई पनि पायक पर्ने जिल्लाको रूपमा चितवनलाई चिनिन्छ।

पर्यटकीय हब चितवन आज बिस्तारै चरा हब बन्दैछ। 'बर्ड वाचर'का लागि अहिले स्वर्ग कहलिएको छ चितवन। नेपालमा पाइनेमध्ये ७० प्रतिशत बढी प्रजातिका चरा चितवनमा पाइन्छन्। यहाँका घाँसेमैदान र सिमसार क्षेत्र चराको बाक्लो बासस्थान क्षेत्र हो। घारी र समथल सतहदेखि उच्च पहाडी इलाका भएकाले पनि चितवन सेरोफेरो चराहरूको अनुकूल बासस्थान क्षेत्र हो।
विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र नारायणी-राप्ती नदी आसपासलाई चराको सुरक्षित बासस्थान क्षेत्र मानिन्छ। चितवनको प्राकृतिक वातावरण चराको लागि उपयुक्त भएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउँछन्। हालैको रेकर्डअनुसार नेपालमा पाइने आठ सय ८६ प्रजातिका चराहरूमध्ये चितवनमा तीन सय ३४ प्रजातिका चरा भेटिएका छन्।
पछिल्ला दिनमा यो संख्या वृद्धि हँदै गइरहेको छ। नेपालका ३७ प्रजातिका लोपोन्मुख चराहरूमध्ये २४ प्रजातिका चराहरू यहाँ पाइन्छन्। यहाँ पाइने मुख्य चराहरूमा मयुर, धनेश, सुगाका विभिन्न प्रजाति, जलकौवा, चखेवा, गरुड, हुट्ट्यिाउँ, चिल, उल्लु, लाँचे, काठफोर, किङफिसर, ढुकुर, हलेसो आदि हुन्। यस्तै अति दुर्लभ चराहरूमा खरमजुर, रागधनेश, डंगुरगिद्ध पनि यहाँ पाइन्छन्। २०७१ को चरा गणनामा यहाँ सातवटा नयाँ चरा थपिएका थिए भने यस वर्षको गणनामा यहाँ 'बगर ज्यामी' नामको नयाँ चरा फेला परेको थियो।

चितवन चराहरूको बासस्थानमात्र नभई बसाइसराइको गन्तव्य पनि हो। गर्मीयाममा यहाँ ४७ प्रजातिका चराहरू बसाइसराइ गरी आइपुग्छन् भने जाडोयाममा एक सय ४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन्। देशका विभिन्न भागबाट समेत चराहरू चितवन आसपास प्रजनन गर्न आउने स्थानीय चराविद् टीकाराम गिरी बताउँछन्।

त्यसैले पनि देशदेखि विदेशसम्मका पर्यटकहरू चरा अवलोकनका लागि चितवन आउने गर्छन्। चराहरूको बसाइसराइ हेर्न कै लागि विदेशबाट समेत ठूलो संख्यामा पर्यटकहरू चितवन आउने निकुञ्ज अधिकृत कँडेल बताउँछन्।

विभिन्न देशबाट हिउँद यामको सुरुवातसँगै चितवन राष्ट्रिय निकुञ्ज आउने चराहरू अहिलेसम्म निरन्तर आइरहेका छन्। विदेशी चराहरू पहिलाको तुलनामा कम देखिन थालेको चराविज्ञ गिरी बताउँछन्। चराहरू हेरेर मज्जा लुट्न चाहनेको संख्या पनि दिनदिनै बढिरहेको छ।

यहाँ भारतका स्वर्गचरी तथा राजचरीसमेत प्रजननका लागि आउने गर्दछन्। युरोपदेखि एसियाका विभिन्न मुलुकमा ट्याग लगाएका चराहरूसमेत यहाँ फेला पारिएको छ। फागुन-चैतका दिनमा न्यानो र रातमा हल्का चिसो हुने हँदा यो मौसम रैथाने तथा आगन्तुक चराहरूको लागि उपयुक्त मौसम मानिन्छ।

निकुञ्ज क्षेत्रमा कात्तिकको अन्तिम सातादेखि माघ अन्त्यसम्मको अवधि चरा आउने मुख्य समय हो। नेपालको हिमाली क्षेत्रको साथै साइबेरिया, बर्मा, तिब्वतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चराहरू यहाँ आउने चराविज्ञ हेमसागर बरालले बताए। उनका अनुसार ती चराहरूको बसाइ चैत अन्तिमसम्म हुने गर्दछ। यस वर्ष चरा आइपुग्नुपर्ने समय सकिन अब एक महिना बाँकी छ।

पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्या चराहरूको आगमन तथा वृद्घिमा ह्रास आउनुको कारण देख्छन् चराविज्ञ बराल।

चितवनको सौराह, कथार, कसरा, अमलटारी, माडी, बीसहजारीताल, लामीताल, तमोरताल, पदमपुर, पटना साथै नारायणी र राप्ती नदीका किनाराहरू चरा बसोबासका लागि प्रमुख स्थानहरू मानिन्छन्। चितवन खासगरी पानीमा आश्रित चराहरू बाक्लो बासस्थान मानिन्छ।

निकुञ्ज र आसपासका क्षेत्रमा जनचेतना अभाव र फितलो कानुनको फाइदा उठाउँदै चराको सिकार बढी भएका कारण पनि यहाँ चराको अस्तित्व बिस्तारै संकटमा पर्दै गएको अर्का चरा गाइड तथा चराविज्ञ बासु बिडारी बताउँछन्। यहाँ पहिला देखिने तर अहिले लोप भएका चरा, ती र तिनका प्रजातिको लोप हुनुको कारण भने निकुञ्जले खोज्न नसकेको स्थानीयहरूको गुनासो छ। विभिन्न ऋतुमा आउने चराको संख्या घट्नुको कारण निकुञ्जले खोज्न सकेको छैन। यसका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने स्थानीयवासीको माग छ।

नवलपरासी चितवनको सीमा भएर बग्ने नारायणी नदी एवं निकुञ्ज वरिपरि पाइने एघार प्रजातिका चराहरू पूर्ण तथा सिमसारमा आ िश्रत छन्। त्यस्तै संकटापन्न अवस्थामा रहेका विश्वका एक सय ४९ प्रजातिका चराहरूमध्ये ३९ प्रजातिका चरा चितवनआसपास देख्न पाइन्छ। निकुञ्जको ठूलो विशेषता भनेको कम समय र सुरक्षित वातावरणमा धेरैभन्दा धेरै प्रजातिका चरा अवलोकन गर्न पाइनु पनि हो।

दिनभरिको हिँडाइ तथा जंगल सफारीको थकान बिर्साउन पनि निकुञ्ज आसपासका चराहरू हिजोआज पर्यटकहरूको रोजाइमा पर्न थालेका छन्। यद्यपि पर्यटकका लागि भने व्यवस्थित चरा अवलोकन मचानहरू निकुञ्जले स्थापना गर्न सकेको छैन। 

चरा अवलोकनका लागि विशेष व्यवस्थित पूर्वाधार राज्यले स्थापना गर्ने हो भने चितवनको अर्को परिचय 'चरा गन्तव्य चितवन' पनि बन्न सक्छ ! यतातर्फ चितवनवासीले पनि सोच्ने कि ! ?

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167