शोषणले बढायो विदेशमा आत्महत्या - newsallabc.com

Breaking

Wednesday, January 25, 2017

शोषणले बढायो विदेशमा आत्महत्या

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.

वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या वृद्धि हुनु अब धेरैलाई सामान्य लाग्न थालेको छ। किनकि, दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बेला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ।

वैदेशिक रोजगारीमा गएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका कैयन् युवकयुवती विदेशमा प्राकृतिक मृत्युभन्दा पनि सडक दुर्घटना, मुटुजन्य रोग, हृदयघात, आत्महत्याजस्ता कारण सर्वाधिक ज्यान गुमाउने गरेको बोर्डको तथ्यांक छ।
साथै, पछिल्लो अवधिमा वैदेशिक रोजगारी क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको पाइएको छ । विदेशमा आत्महत्या गर्नेको संख्या सरसर्ती हेर्दा महिलाको तुलनामा पुरुषको संख्या ज्यादा देखिन्छ तर पुरुषको तुलनामा निकै कम संख्याका महिला वैदेशिक रोजगारीमा जाने र सोही अनुपातमा हेर्ने हो भने आत्महत्या गर्ने महिलाको संख्या बढिरहेको पाइएको हो । त्यस्तै, विदेशमा मृत्यु हुने महिलाको संख्यामध्ये करिब एकतिहाइको मृत्युको कारण ‘आत्महत्या’ पाइएको छ। पुरुषको मृत्युको कारणमा आत्महत्या गर्नेको संख्या महिलाभन्दा कम देखिन्छ।
वैदेशिक रोजगारी क्रममा धेरै महिलाले आत्महत्या गर्नुलाई विज्ञहरूले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणका रूपमा लिने गरेका छन् । बोर्डकी निर्देशक निर्मला थापा कामका लागि विदेश पुगेका ठूलो संख्याका महिलाले आत्महत्या गर्नुको कारण शारीरिक र आर्थिक शोषण हुनुलाई ठान्छिन् । ‘पुरुषको तुलनामा विदेशमा धेरै महिलाले आत्महत्या गर्नुको कारण खोज्न अहिलेसम्म गहिरो अध्ययन त भएको छैन,’ उनले भनिन्, ‘सरसर्ती हेर्दा महिलामाथि हुने अत्याचार नै प्रमुख कारण हो भन्न सकिन्छ ।’
एक वर्षअघि कुबेतमा घरेलु कामदारका रूपमा गएकी पाँचथरकी रमिता लिम्बूले तीन महिनाअघि आत्महत्या गरिन् । अघिल्लो दिनसम्म घरपरिवारसँग फोनसम्पर्कमा रहेकी ३० वर्षीया लिम्बूले आत्महत्या गर्नुको कारण परिवारले अझै थाहा पाउन सकेको छैन । परिवारका सदस्यका अनुसार रमिताले बेलाबेला विदेशको रोजगारी नेपालबाट सोचेजस्तो नहुने रहेछ भन्दै आएकी थिइन् । र, घरमा कमाइ पठाउन पनि सकेकी थिइनन् । सोचेभन्दा काम कठिन हुनु र राम्रो पारिश्रमिक नपाएका कारण रमिताले आत्महत्या गरेको हुन सक्ने परिवारको आँकलन छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २००८÷०९–२०१४÷१५ सम्म वैदेशिक रोजगारी क्रममा ज्यान गुमाएका ८५ महिलामध्ये २९ जनाले आत्महत्याको बाटो रोजे । सोही अवधिमा कामका लागि विदेश पुगेका मध्ये ४ हजार २ सय ३५ पुरुषले ज्यान गुमाउँदा आत्महत्या गर्नेको संख्या ४ सय ५१ देखियो ।
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ४४ लाख युवकयुवती वैदेशिक रोजगारीमा गएकामा यसमध्ये महिलाको संख्या एक लाख ५३ हजारजति छ । त्यस्तै, सन् २०१४÷१५ मा श्रम स्वीकृति लिएर ५ लाख १२ हजार वैदेशिक रोजगारीमा गएकामा महिलाको संख्या १९ हजार थियो । धेरै पुरुष कामदारको निधन हुने देशमा मलेसिया र साउदी अरेबिया अग्रस्थानमा आए पनि महिला कामदारको निधन हुने देशमा कुबेत (२४ जना), मलेसिया (१७) र युनाइटेड अरब इमिरेट्स (१६ जना) अग्रस्थानमा देखिएका छन् जहाँ घरेलु कामदारको रूपमा धेरै महिला गएका छन् । कुबेतमा धेरै महिलाको निधन भएकाले घरेलु कामदारका रूपमा जाने महिला शोषित भइरहेको अनुमान गरिएको छ ।
त्यस्तै, कतारमा ५, साउदी अरेबियामा ३, ओमानमा १ श्रमिक महिलाको निधन भएको छ । विदेशमा महिलाले आत्महत्या गर्ने क्रम बढेपछि वैदेशिक रोजगारीमा पठाउनुअघि पर्याप्त सीप र सचेतना दिन जरुरी देखिएको छ ।
‘महिलामाथि अत्याचार धेरै भएको हुन सक्छ’
निर्मला थापा
निर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
वैदेशिक रोजगारीमा गएका महिलाको मृत्युको कारणमध्ये आत्महत्या प्रमुख देखिए पनि यसबारे अझै बोर्डको तर्फबाट गहिरो अध्ययन भएको छैन । अन्तर्राष्ट्रिय श्रम संगठनलगायत संस्थाको प्रतिवेदनमा देखिएअनुसार र सरसर्ती हेर्दा घरेलु कामदारका रूपमा विदेश जाने महिलामाथि शोषण धेरै भएका कारण आत्महत्या गरेको अनुमान लगाउन सकिन्छ ।
स्वदेशमा वैदेशिक रोजगारी भनेको निकै आकर्षक ठानेर गएका महिलाले विदेशमा सोचेभन्दा फरक पाउँदा आत्महत्या गरेका हुन सक्छन् । कतिपयले विदेशबाट फर्केर आउनुभन्दा आत्महत्या गर्नु नै सहज ठान्छन् । फेरि वैदेशिक रोजगारीमा जाने महिला स्वदेशदेखि नै जोखिममा परेका हुन्छन् । विदेशमा पनि त्यो क्रम नरोकिएपछि उनीहरूका अगाडि आत्महत्याबाहेक अर्को विकल्प देखिँदैन । कतिपय महिलाले घरको समस्या र पुरुषको व्यवहारका कारण पनि आत्महत्या गर्छन् । त्यस्तै, पत्नी वैदेशिक रोजगारीमा गएकै बेला कतिपय पुरुषले घरमा अर्की श्रीमती भिœयाएका हुन्छन् । त्यसले पनि आत्महत्यातर्फ धकेलिरहेको हुन सक्छ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167