प्रधानमन्त्री ओलीले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नु भएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन ।’ योगी आदित्यनाथ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको भन्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीका हिसाबले बोलेको हो भने आलोचनायोग्य अभिव्यक्ति दिएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘उहाँ मुख्यमन्त्रीका हिसाबले यदि त्यस्तो बोलेको हो भने बोल्नु भएको हो भने आलोच्य विषय हो । यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए । भारतीय समाचार संस्थाहरुसँगको अन्तर्वार्तामा मुख्यमन्त्री योगीले ‘नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोऱ्याउन’ चेतावनी दिएका थिए ।
उनले भारत र नेपाल दुई अलग राजनीतिक प्रतिष्ठान भए पनि दुवैको आत्मा एउटै रहेको भन्दै शताब्दीदेखिको सांस्कृतिक, ऐतिहासिक र पौराणिक सम्बन्ध नेपालले बिर्सन नहुन बताएका थिए ।
उनले नेपाललाई राजनीतिक सीमा तय गर्नुभन्दा पहिले त्यसबाट पर्ने प्रभावका बारेमा ध्यान दिनु आवश्यक रहेको बताएका थिए । भारतसँगको सीमा विवादमा चीनको कुरा मानेर किचलो गरेपछि तिब्बतमा सिर्जित अवस्थाको प्रसंग कोट्याउँदै त्यस्तो गल्ती नगर्न नेपाललाई मुख्यमन्त्री योगीले चेतावनी दिएका थिए ।
No comments:
Post a Comment