प्रधानमन्त्रीज्यू, नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो : राजेन्द्र महतो - newsallabc.com

Breaking

Saturday, June 13, 2020

प्रधानमन्त्रीज्यू, नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो : राजेन्द्र महतो

'राष्ट्रियता कसैको एकलौटी होइन'


जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन देशको अखण्डता, राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको बताए । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको पनि महतोले बताए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताए । राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताए ।

वर्तमान संविधानप्रति आफूहरुको ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै पटक–पटक संविधानप्रति रहेको विभिन्न असहमतिहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइए पनि आफूहरुको कुरा नसुनिएको उनले बताए । आफूहरुको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै प्याकेजमा संविधान संशोधन गरेको भए अझ राम्रो हुने उनले बताए । यदि त्यस्तो गरेको भए हिमाल, पहाड, तराई मधेसका नागरिकको भावना समेटिने नेता महतोले बताए ।

नेता महतोले संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमिको सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताए ।

नेता महतोले राष्ट्रघात क–कसले गऱ्यो त्यसको छानबिन हुनुपर्ने पनि बताएका छन् । महाकाली सन्धिम पारित हुँदा कालापानी र लिपुलेकको बारेमा प्रस्ट हुनुपथ्र्यो भन्दै महतोले भने, ‘महाकाली सन्धिमै कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा उल्लेख हुनुपर्ने थियो । को हो राष्ट्रवादी, को हो राष्ट्रघाती त्यसको पहिचान हुनुपऱ्यो ? मधेसी नागरिकले राष्ट्रियताको सवालमा कति पटक अग्निपरीक्ष दिनुपर्ने हो ?’

नेता महतोले नक्सामा मात्रै राखेर गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । साथै उनले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँदै कूटनीतिक तवरबाटै वार्ताको माहोल सिर्जना गरेर जमिन फिर्ता गर्न आग्रह गरेका छन् ।

'त्यो जमिन र भूमि चाहियो नेपाली नागरिकलाई । सरकारले वार्ता गरेर त्यो जग्गा फिर्ता ल्याइदिनुपऱ्यो । नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारले बनाएको होइन । संसद्मा उल्टापाल्टा कुरा गरेर माहोल अप्ठ्यारो नबनाउनुस् । जनता–जनताबीच बनेको सम्बन्ध बिग्रन नदिनुहोस्,' नेता महतोले भने ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167