अब मन्त्रीलाई हेलिकोप्टर चढ्न र सदरमुकामबाहिर जान रोक - निर्वाचन आयोग - - newsallabc.com

Breaking

Wednesday, March 1, 2017

अब मन्त्रीलाई हेलिकोप्टर चढ्न र सदरमुकामबाहिर जान रोक - निर्वाचन आयोग -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं, १८ फागुन
निर्वाचन आयोगले मन्त्रीहरूलाई जिल्ला सदरमुकामबाहिर हुने उद्घाटनका कार्यक्रममा सहभागी हुन र हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको छ । बुधबार मन्त्रीहरूलाई आयोगमा नै बोलाएर निर्वाचन आचार–संहिता लागू भइसकेकाले जिल्ला सदरमुकामबाहिर हुने कार्यक्रममा नजान र हेलिकोप्टर प्रयोग नगर्न आयोगले मन्त्रीहरूलाई निर्देशन दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मन्त्रीहरूलाई आचार–संहिताको पालना नगरी गए फिर्ता बोलाउने चेतावनीसमेत दिए । ‘तपाईंहरू स्वतन्त्र र निष्पक्ष निर्वाचन चाहनुहुन्छ कि चाहनुहुन्न ? चाहनुहुन्छ भने निर्वाचन आयोगले जारी गरेको १९ बुँदे आचार–संहितालाई कडाइका साथ पालना गर्नाेस्,’ बैठकमा प्रमुख आयुक्त यादवले मन्त्रीहरूलाई भने, ‘त्यसमा सदरमुकामबाहेक अन्य स्थानमा हुने कार्यक्रममा जान र हेलिकोप्टर लैजान निषेध गरिएको छ ।’ यादवले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई पनि सोसम्बन्धी आतिथ्य मन्त्रीहरूलाई जिल्ला आउँदा नदिन भनिएको जानकारी गराएका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवको निर्देशनप्रति केही मन्त्रीले भने असन्तुष्टि जनाएका थिए । उनीहरूले आचार–संहिता केही खुकुलो बनाउन प्रमुख आयुक्तसँग आग्रहसमेत गरे । मन्त्रीहरूलाई जवाफ दिँदै प्रमुख आयुक्त यादवले सबै राजनीतिक दलको सहमतिबाटै आचार–संहिता बनाएको भन्दै खुकुलो नहुने प्रस्ट पारे । मन्त्रीहरूलाई उनले पुनःसंरचना आयोगको प्रतिवेदन छिटो दिनसमेत आग्रह गरेका थिए । बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सरकारका सबै मन्त्री आयोगले जारी गरेको आचार–संहिता पालना गर्न प्रतिबद्ध रहेको बताए । उनले निर्वाचनका लागि सुरक्षा निकायका तर्फबाट २ लाख २६ हजार जनशक्ति परिचालन हुने र २१ हजार बुथ सुरक्षाका लागि सामान्य, संवेदनशील र अति संवेदनशील बुथमा विभाजन गरी कार्ययोजना बनाइरहेको जानकारी दिए ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आयोगलाई पूर्ण सहयोग गने जनाए । उनले निर्वाचन आयोगलाई निर्वाचनका क्रममा कुनै कुराको कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । बैठकमा रक्षामन्त्री बालकृष्ण खाँडले निर्वाचन आयोगले जारी गरेको आचार–संहिताको पालना गर्नु सरकारको नै पहिलो कर्तव्य भएको बताएका थिए । मन्त्री खाँडले निर्वाचन संक्रमणकालीन अवस्थामा सम्पन्न गर्नुपर्ने भएकाले कतिपय प्रावधानमा निर्वाचन आयोग लचिलो हुनुपर्ने अवस्था आउन सक्नेमा समेत आयोगको ध्यानाकर्षण गराए । स्वास्थ्यमन्त्री गगन थापाले पनि आचार–संहिता पालनामा प्रतिबद्ध रहने बताए । उनले स्वास्थ्य क्षेत्रका कतिपय नियुक्ति कुनै पनि समयमा आवश्यक रहने बताउँदै आयोगको ध्यानाकर्षण गराए । आयोगले निर्वाचन घोषणा भइसकेपछि गृह, स्वास्थ्यलगायतका कतिपय मन्त्रालयमा रातारात भएको सरुवाप्रति प्रश्न उठाएपछि मन्त्रीहरूले लचिलो हुनुपर्ने दबाब दिएका हुन् ।
पर्यटनमन्त्री जीवनबहादुर शाहीले भने हेलिकोप्टर चढ्न लगाइएको प्रतिबन्धप्रति निर्वाचन आयोगले पुनर्विचार गनुपर्ने अडान राखे । कर्णालीजस्तो दुर्गम क्षेत्रमा संसदीय निर्वाचनका बेलासमेत हेलिकोप्टर चढेको स्मरण गराउँदै आउँदो निर्वाचनमा पनि आयोगले दुर्गमतालाई ध्यान दिनुपर्ने उनको अडान थियो । आयोगले अति आवश्यक कार्यक्रम परेको खण्डमा आयोगको  अनुमति  लिएर  मात्र  हिँड्न  मन्त्रीहरूलाई  निर्देशन  दिएको छ ।  उसले पुनर्निर्माणको कार्यक्रमलाई भने आचार–संहिताले नियन्त्रण नगर्ने प्रस्ट पारेको छ । निर्वाचन आयोगले ३१ वैशाख २०७४ को स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केही दिनअघि मात्रै आचार–संहिता जारी गरेको थियो । सो आचार–संहिता बुधबारदेखि नै लागू भएको निर्वाचन आयोगले जनाएको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167