Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यसैसाता महाधिवशेनको तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुरानो ‘राप्रपा गुट’ तहस-नहस हुने बाटोमा अघि बढेको छ । र, यसको सोझो फाइदा अब कमल थापाले उठाउने भएका छन् ।
पूर्वराप्रपा नेताहरु पशुपतिसमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दवीच आपसी एकता हुन नसकेका कारण मझौला राप्रपा नेताहरुसमेत कमल थापाको पक्षमा उभिन थालेका छन् । युवा पुस्ताका नेताहरु कमल थापातिरै ढल्किएका छन् ।
विचारको हिसाबले पनि राप्रपाले कमल थापाकै ‘राजतन्त्रको लाइन’ लाई पारित गरेपछि अब त्यहाँ जसको ‘नीति उसैको नेतृत्व’ हुनुपर्ने कुरो उठ्न थालेको छ ।
हामीले यहाँ राप्रपाभित्रको वैचारिक पक्ष भन्दा पनि नेतृत्वगत शक्ति सन्तुलनबारे सामान्य शल्यक्रिया गर्ने प्रयास गरेका छौं:
पशुपतिसमशेर जबरा
राप्रपाका सिनियर नेता पशुपति समशेरले लामो समय पार्टी नेतृत्व हाँकेका व्यक्ति हुन् । उनी एक प्रकारले ‘टेस्टेड’ नेता हुन् । राणा खान्दानमा जन्मिए पनि उनी ०४६ पछि प्रजातान्त्रिक प्रक्रियामा आए । र, ०६३ सालपछि आफूलाई गणतन्त्रको पक्षमा उभ्याए ।
तर, पशुपतिसशमशेर राजनीतिमा त्यतिधेरै अक्कल भएका नेता मानिँदैनन् । दुई राप्रपावीच एकताको मितिसमेत तोकिएसकेका बेला पछि हटेका राणाको राप्रपाभित्र पकड कमजोर बन्दै गइरहेको छ ।
पूर्वराप्रपा समूहमै रहेका डा. प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, सुनीलबहादुर थापा, विक्रम पाण्डेलगायतका नेताहरु नै अब पशुपतिबाट पार्टी चल्न सक्दैन भन्ने निश्कर्षमा पुगिसकेकाले राणाबाट अब राजनीतिक नेतृत्व हाँकिने सम्भावना कमै देखिन्छ । उनी अध्यक्षमा उढ्ने चर्चा चले पनि धेरैले यो कुरामा विश्वास गरेका छैनन् ।
कमल थापाले राप्रपा फुटाएर जाँदा पहिलो संविधानसभासम्म राप्रपा नेपाल धेरै कमजोर थियो । तर, दोस्रो संविधानसभासम्म आइपुग्दा राप्रपा नेपालले राप्रपालाई पछि पार्यो । कमल थापाले कार्यकर्ताबाट पैसा उठाएर बलियो पार्टी कार्यालय बनाए, पशुपतिसमशेरले चाँहि भएकै पार्टी कार्यालय पनि भुतबंगलाजस्तो बनाए, पार्टी त के, कार्यालयसम्म राम्ररी चलाउन सकेनन् ।
राप्रपा नेताहरुका अनुसार पशुपतिलाई भारतीय पक्षको समर्थन रहेको बताइन्छ । तर, भारतीय पक्षले पनि बलियोलाई हेर्छ कि कमजोरलाई भन्ने बहस पनि राप्रपाभित्र चल्न थालेको छ । पार्टीभित्र र बाहिर दुबैतिर कमल थापा शक्तिशाली भएकाले भारतले वा अरु कुनै देशले बलियोलाई नै महत्व दिने पूर्वराप्रपाका नेताहरुको बुझाइ छ । पूर्वराजा र पशुपतिसमशेरको सम्बन्धका बारेमा पनि यही कुरा सत्य हुन सक्छ ।
त्यसो त आफूलाई ‘राजा साहेब’ जस्तै सोच्ने पशुपतिसमशेर राणा फिल्डमा दुख गर्ने भन्दा पनि पैसा पेलेका भरमा राजनीति गर्ने बानी परेका छन् । निर्वाचनमा पैसा बाँडेर भोट किन्न सकिन्छ भन्ने सोचाइ भएका राणाले यसपालि महाधिवेशनमा आफ्ना प्रतिनिधिको संख्या बढाउन जिल्ला जिल्लामा पैसा खर्च गरेको कमल थापा पक्षका कार्यकर्ताहरुको गुनासो छ ।
आशन्न महाधिवेशनमा कमल थापासँग चुनाव लड्दा आफ्नो हालत नराम्रो हुने पशुपतिसमशेर राणाले राम्रोसँग बुझेका छन् । जिल्लाबाट आएका प्रतिनिधिहरुको संख्याले पनि यो चित्र देखाइसकेको छ । त्यसैले राणा यो महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्नुभन्दा थापासँगै मिलेर आफ्नो पोजिसन सुरक्षित गर्ने सोचाइमा रहेको स्रोतको दाबी छ । यसो गर्दा भोलि राणाले समानपातिक सांसद बन्ने र सरकारमा जाने बाटो सुरक्षित हुने देखेका हुन सक्छन् ।
डा. प्रकाशचन्द्र लोहनी
हाल आलोपालो प्रणाली अन्तरगत राप्रपाका राष्ट्रिय अध्यक्ष रहेका डा. प्रकाशचन्द्र लोहनी वौद्धिक व्यक्तित्व हुन् । उनको विद्वता पार्टीभित्रमात्रै होइन, बाहिर पनि स्थापित छ । उनी नियमित लेखहरु लेख्छन् र विचार दिन सक्छन् । डा. लोहनी अध्ययनशील एवं विचारक तथा चिन्तकका रुपमा समेत राप्रपाका एक खम्बा मानिन्छन् ।
विगतमा सरकारमा सहभागिता जनाउँदा पनि लोहनी भ्रष्टाचारमा मुछिएनन् । उनी एक प्रकारले सादगी नेताका रुपमा समेत स्थापित छन् ।
तर, राप्रपाभित्र डा. लोहनीको कुनै गुट छैन । उनी पार्टीभित्र सधैं अल्पमतमा पर्दै आएका छन् । उनले अहिलेसम्म पार्टीको ‘फस्ट म्यान’ बन्न नपाएका कारण आफ्नो क्षमता प्रदर्शन गर्नबाट वञ्चित हुनुपरेको छ ।
अहिलेको अवस्थामा कतिपय व्यक्तिको सल्लाहमा लागेर डा. लोहनीले महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन् । तर, पूर्वराप्रपा समूहभित्रै विभिन्न गुट उपगुटहरु रहेको र लोहनीको खासै गुट नरहेकाका कारण उनले चुनाव लड्नु भनेको कमल थापासँग हार्नु नै हो ।
अब लोहनी हार्ने चुनाव लडेर पार्टीभित्र प्रतिपक्षको नेता बन्छन् या कमल थापासँगै सहकार्यको बाटोमा जान्छन् ? यो हेर्न बाँकी छ । विचारको हिसाबले लोहनी पनि कमल थापाजस्तै गणतन्त्रको विकल्पमा राजतन्त्र राख्नुपर्ने पक्षमै उभिएका छन् ।
लोहनीले आफैं चुनाव नलडी पशुपति समशेरलाई सघाउने अनुमान किन गर्न सकिँदैन भने वौद्धिक विश्लेषक डा. लोहनीले राणाको पछि लाग्नु र थापाको पछि लाग्नुमा हुने फाइदा/बेफाइदाबारे पक्कै पनि आँकलन गरेकै हुनुपर्छ ।
पशुपतिको पछि लागेर हुने भए अहिले राप्रपाको हालत यस्तो पातलो हुने नै थिएन । यद्यपि पार्टीभित्र कमल थापाको विपक्षमा रहेको भोटलाई आफूमा समाहित गरेर लोहनीले प्रतिपक्षको भूमिका खेले भने उनी पार्टीमा शक्तिशाली बन्न सक्छन्, कांग्रेसमा कृष्ण सिटौलाले गरेजस्तै । शायद यही सोचेर लोहनीले ‘हार्ने चुनाव’ मा भिड्ने मानसिकता बनाइरहेको हुन सक्छ ।
स्रोतका अनुसार रोशन कार्की, विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवहादुर प्रधान लगायतले आफूलाई समर्थन गर्ने डा. लोहनीको विश्वास देखिन्छ । त्यस्तै पूर्वराप्रपाका नेता पशुपतिसमशेर र लोकेन्द्रबहादुर चन्दले पनि आफूलाई सघाउने लोहनीले सोचेका हुन सक्छन् ।
तर, पूर्वराप्रपाका अधिकांश नेताहरुले ‘हार्ने नेता’ को पछि लाग्नुभन्दा कमल थापाकै वरिपरि फन्को मार्ने सोचाइ बनाइसकेका छन् । जस्तो कि- सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले महाधिवेशनमा लोहनीको साटो कमल थापालाई नै सघाउने लगभग पक्का भइसकेको छ । यो स्थितिमा लोहनी अध्यक्षमा चुनाव लडेको खण्डमा पूर्वराप्रपा समूहबाटै उनलाई पूर्ण समर्थन नआउन सक्छ ।
लोकेन्द्रबहादुर चन्द

सूत्रहरुका अनुसार चन्दको एउटामात्रै चाहना के छ भने आफ्ना छोरा जयबहादुर चन्दको राजनीतिक भविश्य सुरक्षित होस् । विगतमा ओली सरकारमा छोरालाई मन्त्री बनाउन चन्दले पशुपतिसमशेर राणासँग सम्झौता गर्नुको कारण पनि यही नै थियो । त्यसबेला केपी ओलीले विक्रम पाण्डेलाई मन्त्री बनाउन चाहन्थे तर, लोकेन्द्रले आफ्नो छोरालाई बनाउन चाहे ।
सुदुरपश्चिममा बाहेक अरुतिर लोकेन्द्रको खासै प्रभाव छैन । त्यसैले आगामी महाधिवेशनमा उनको समर्थन जुन नेतालाई हुन्छ, उसलाई संख्यात्मक नभएर नैतिक बलमात्रै थपिने छ । सूत्रहरुको दाबी के छ भने लोकेन्द्रले जयबहादुर चन्दको भविश्य सुरक्षित गर्ने मूल्यमा कमल थापालाई नै सघाउनेछन् ।
त्यसो त कमल थापासँग राप्रपाको पार्टी एकता गराउने कार्यमा पनि चन्दले सकारात्मक भूमिका खेलेका छन् ।
कमल थापा

देशैभरि पूर्वराप्रपा नेपालको बलियो संगठन छ । पार्टी काहिरका मानिसहरुमा पनि कमल थापाप्रति आकर्षण देखिन्छ, जति अन्य राप्रपा नेताहरुमा छैन ।
भौतिक रुपमा पनि कमल थापा डा. लोहनी, चन्द वा राणाहरुभन्दा फूर्तिफार्ती छन् । ट्वीटर लगायत सामाजिक सञ्जालमा युवा पुस्तासँग सम्वादमा रहन्छन् । रणनीति बनाउन र कार्यनीतिक मामिलामा पनि थापा निकै सिपालु छन् ।
यी सबै विशेषताका कारण अबको महाधिवेशनमा थापा एक्ला प्रतिस्पर्धी जस्तै देखिन्छन् । पूर्वराप्रपाभित्र गुटैगुट र फुटैफुट छ भने पूर्वराप्रपा नेपाल कमल थापाको नेतृत्वमा एक ढिक्का छ । यो अवस्थामा कमल थापाले पूर्वराप्रपाकै विभिन्न गुटहरुको समर्थन पाउने सम्भावना बढेको छ ।
तर, कमल थापाका केही कमजोरीहरु पनि छन् । जस्तो कि उनले पार्टीभित्रका विपक्षीलाई नरुचाउने र आन्तरिक लोकतन्त्र फस्टाउन नदिने डर प्रतिद्वन्दस्हरुमा छ । विगतमा पदमसुन्दर लावतीले थापासँग पार्टी अध्यक्षमा चुनाव लडेका कारण उनलाई लखेटिएको गुनासो पनि आउने गरेको छ । त्यसैले पार्टीमा कमल थापा शक्तिशाली भए भने कतै उनी निरंकुश त हुने हैनन् ? यस्तो डर अन्य नेताहरुमा देखिन्छ, जसलाई कमल थापाले चिर्न सकेको देखिँदैन ।
राप्रपा नेपाल पक्षका केही नेताहरु आगामी चुनावमा पार्टीलाई बलियो बनाउनुपर्ने बेलामा एकले अर्कामाथि यस्तो आशंका गरेर बस्दा सबैलाई घाटा हुने बताउँछन् । त्यसैले अहिले सबैले कमल थापालाई सघाउनुपर्ने र थापाले पनि दुबै गुटमा राम्रा मान्छेलाई समेटेर टीम बनाउनुपर्ने कमल थापा निकटस्थ नेताहरुको भनाइ छ ।
मझौला खेलाडीः दीपक बोहोरादेखि दिलनाथसम्म
एकीकृत राप्रपाभित्र केही त्यस्ता खेलाडीहरु छन्, जसको चर्चा नगरी महाधिवेशन अपूरो हुनेछ । तीमध्ये हाल मन्त्री पदमा रहेका दीपक बोहोरा पार्टी बाहिर अलोकपि्रय छवि नेता हुन् । तर, पार्टीमा उनी सधैं लाइन मिलाएर शक्तिमा आइरहन सक्ने खेलाडी हुन् । यसपालि बोहोराको राजनीतिक हिसाब-किताव कमल थापासित मिलान हुन्छ, या पूर्वराप्रपा समूहमै रहन्छन्, अनुमान लगाउन गाह्रो छ ।

माधव नेपालका पालादेखि ओलीका पालासम्म अनि अहिले प्रचण्डका पालासम्म गणतन्त्र फापेका बोहोरा हालसम्म पशुपति समशेर राणासँग छन् । तर, उनको कित्ता कुनै पनि बेला परिवर्तन हुन सक्छ । पार्टीमा उनको खासै जनाधार एवं मताधार छैन ।
राप्रपामा प्रत्यक्षतर्फ चुनाव जितेर आएका सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत भएकाले उनीसँग पिताको ‘लिगेसी’ र मताधार छ । युएनको प्रोजेक्टमा लामो समय काम गरेर राजनीतिमा फर्केका सुनीलबहादुर यतिबेला कमल थापासँग नजिकिने पक्षमा छन् ।
सुनीलसँग पिताकै पालादेखिका केही केन्द्रीय सदस्य एवं जिल्ला प्रतिनिधिहरुको साथ छ । यसले गर्दा दीपक बोहोराभन्दा सुनील थापाको सहयोगले महाधिवेशनमा अर्थ राख्ने सूत्रहरुको दाबी छ ।
त्यस्तै नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधान, वर्तमान मन्त्री विक्रम पाण्डे, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ राप्रपाका महत्वपूर्ण खेलाडी मानिन्छन् । तर, यिनीहरु आगामी महाधिवेशनमा आफ्नो पूर्वगुटका राणा र लोहनीलाई छाडेर कमल थापाको कित्तामा आउने अनुमान राप्रपा नेपालका नेताहरुले गरेका छन् । महाधिवेशनमा यी नेताहरुसँग उल्लेख्य मत रहेको छ, जसका कारण उनीहरुको समर्थन लिनु अध्यक्षका प्रत्याशीहरुका लागि जरुरी छ ।
पूर्वराप्रपा नेपाल गुटमा रहेका बाँकेका धवलसमशेर राणा र झापाका राजेन्द्र लिङदेन क्षेत्रीय एवं जिल्ला तहका चर्चित एव लोकपि्रय नेता हुन् । तथापि उनीहरुको प्रभाव क्षेत्रीय रुपमा मात्रै रहेको र राष्ट्रिय व्यक्तित्व बन्न नसकेको बताइन्छ ।
व्यवस्थापिका संसदमा सक्रिय भूमिका खेलिरहेका पूर्वराप्रपा नेपालका दिलनाथ गिरी, सुशील श्रेष्ठ र दिनेश श्रेष्ठलगायतका नेताहरु कमल थापाका ‘ब्याक बोन’ हुन् । त्यसैगरी गणेश थापा र रामकुमार सुब्बा पनि कमल थापाका सारथी हुन् । राजाराम श्रेष्ठ, उद्धव पौडेल, लगायतका नेताहरु कमल थापाका दुखसुखका सहयात्री हुन् ।
युवा पुस्ताका कोको छन् ?
राप्रपाभित्र युवापुस्ताका ‘खेलाडी’हरुको पनि अभाव छैन । पूर्वराप्रपा नेपाल पक्षका मोहन श्रेष्ठ र राजाराम बर्तौलादेखि पूर्वराप्रपा समूहमा सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापासम्म राप्रपाका युवा नेताहरु हुन् । त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन लावती पनि राप्रपामा युवा पुस्ताका खेलाडी नेता हुन् ।
पूर्वमन्त्री पर्शुराम राईका छोरा रविन चाम्लिङ पनि कमल थापा पक्षका युवा जनजाति नेता हुन् । लोकेन्द्रबहादुर चन्दका छोरा जयबहादुर चन्द पनि नयाँ पुस्तामै गनिन्छन् । केशरबहादुरका छोरा बिराज विष्ट भने अहिले राप्रपामै छैनन् ।
राप्रपाका दुईवटै गुटका युवा नेताहरुले पूर्वराप्रपा वा पूर्वराप्रपा नेपाल भन्नुभन्दा पनि कमल थापाको नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने र उनले दुबै समूहमा रहेका ‘क्रिम’ मानिसहरुलाई नेतृत्वमा ल्याउनुपर्ने मत राख्दै आएका छन् ।
युवा पुस्ताका नेताहरुले कमल थापालाई गुटको नेता नबन्न र राप्रपाभित्रका गुटहरुभन्दा माथि बस्न सुझाव दिएका छन् ।
सेलिब्रेटीको बेग्लै सल्बलाहट
भनिन्छ, राजनीति एउटा निरश व्यवसाय हो । तर, राप्रपाको आगामी महाधिवेशनमा कोमल ओली र रेखा थापाको सशरीर उपस्थितिले राजनीतिलाई उतिसाह्रो निरश एवं खल्लो हुन दिने छैन । तथापि सेलीब्रेटीहरुको बढ्दो सक्रियताले राप्रपाभित्रका संघर्षशील महिलाहरु छायाँमा पर्ने र अन्तरविरोध बढ्ने डर पनि छ ।
पार्टी प्रवेशलगत्तै केन्द्रीय सदस्यमा मनोनित भएकी रेखा थापा महाधिवेशनमा चुनाव नलड्ने कुरै भएन । त्यस्तै कोमल ओली पनि केन्द्रीय सदस्यकी स्वाभाविक दाबेदार हुन् ।
पार्टीमा पछि आएका सेलिब्रेटीहरुको चर्चा परिचर्चाले साँच्चैकी ‘राजनीति सेलिब्रेटी’ कुन्ती शाही छायाँमा पर्न थालेकी छिन् । राप्रपा नेतृ रोशन कार्की त यसअघि नै छायाँमा परिसकेकी छिन् । मीरा राणाको भूमिका गीत गाउनेबाहेक खासै देखिएको छैन ।
पश्चिम नेपालको दुर्गम गाउँबाट संघर्ष गरेर राजनीतिमा अगाडि आएकी कुन्ती शाहीका तुलनामा रेखा र कोमलको राजनीतिक अनुभव धेरै नै कम छ ।
तर, यो कुराचाँहि निश्चित हो कि पूर्वपञ्चहरुको पार्टीका रुपमा चिनिने राप्रपाभित्र युवायुवती एवं महिलाहरुको आकर्षण बढाउन यस्ता सेलीब्रेटीहरुको परिचालनले भूमिका खेल्ने नेताहरुले ठानेका छन् । सोमबारमात्रै कोमल ओली र रेखा थापाले अर्याल होटलमा एक कार्यक्रम गरेर केही युवा कलाकारहरुलाई राप्रपामा प्रवेश गराएका छन्, जुन कुन्ती शाहीहरुबाट सम्भव हुने थिएन ।
No comments:
Post a Comment