Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं, - एमाले अध्यक्ष केपी ओलीले मधेसी मोर्चा सहमत नभएपनि जेठभित्रै चुनाव गर्न प्रमुख तीन दलहरुबीच समझदारी बनेको पार्टी बैठकलाई जानकारी गराएका छन् । एमालेको बुधबारबाट सुरु पोलिटब्यूरो बैठकमा पछिल्ला घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले मधेसी दलहरुलाई मनाउने अन्तिम प्रयास भइरहेको र त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहल गर्ने उल्लेख गरेका छन् ।
यदी मोर्चासंग सहमतिको अधिकतम प्रयास सफल नभए केही दिन भित्रै चुनावको मिति घोषणा हुने संभावना रहेको ओलीले बताए । प्रमुख तीन दलका शिर्ष नेताहरुबीच मंगलबार बालुवाटार बैठकमा भएको छलफलको प्रसंग उठाउदै ओली चुनाव हुनेमा आशावादी देखिएका हुन् ।
‘प्रधानमन्त्रीको कुरा सुन्दा मिति तय गर्नु होलाकी भन्ने प्रभाव परेको छ’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले कान्तिपुरसंग भने, ‘मधेसी मोर्चाका नेताहरुसंग अन्तिम प्रयास गर्छु भन्नुभएको छ । फागुन ८ भित्र घोषणा गर्ने कुरा गर्नु भएको छ । यो कुरा फेरबदल भएन भने चुनावको मिति आउन सक्छ ।’
ओलीले चुनाव हुदा मधेसी दलहरुलाई पनि आफ्नो एजेण्डा स्थापित गर्ने ठाउ हुने उल्लेख गर्दै त्यसबारे कन्भिन्स गर्ने कोशिस भइरहेको उल्लेख गरे । ‘अब सहमत भएनन् भने पनि चुनाव गर्नैपर्छ यो कुरामा सत्ता पक्ष पनि कन्भिन्स हुन थालेको छ’ ओलीले बैठकमा भने, ‘चुनावको सन्दर्भमा हामीले गरेको प्रयास सफल भइरहेको छ र चुनाव हुने अवस्थाका लागि अझै दाबाव भने जारी राख्नुपर्छ ।’ उनले कुनै क्षेत्रका राजनीतिक दलको कारण मुलुक अनिश्चित र संबैधानिक राजनीतिक संकटमा पर्न नहुने बताए ।
‘चुनाव हुन सकेन भने मुलुक संकटमा पर्छ, संबैधानिक राजनीतिक अन्योल उत्पन्न हुन्छ, मधेसको प्रतिनिधित्व मधेसी मोर्चाले मात्र गर्दैन त्यहाँ अन्य राजनीतिक दलहरुपनि छन्, त्यहाका जनताहरु चुनाव चाहन्छन्’ बैठकमा ओलीले भने, ‘त्यसैले एउटा क्षेत्रको एउटा समूहले मानेन भन्दैमा मुलुकलाई नै संकटमा पुर्याउन सकिदैन ।’
उनीहरुले भनेजस्तो मात्र नहुने उल्लेख गर्दै त्यसैलाई समस्या देखाएर चुनाव रोक्न नहुने ओलीले उल्लेख गरे । पोलिटब्यूरो बैठकमा छलफलका लागि राजनीतिक प्रतिवेदन समेत पेश गर्दै ओलीले संविधान संशोधन मार्फत् प्रदेशको सिमा हेरफेर लगायत प्रस्ताव मुलुकको हितविपरित भएको पुन: दोहोर्याएका छन् । उनले प्रदेशको सिमा हेरफेरको आवश्यकता नरहेकोले यो बिषयलाई चुनावी एजेण्डा बनाएर जान मोर्चालाई सुझाव दिएका छन् ।
संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावबारे ओलीले दुईटा सर्त पालना गरे केही लचिलो हुन सकिने संकेत दिए । सरकारले चुनावको मिति घोषणा र मधेसी मोर्चाले संसदबाट आएको परिणाम स्वीकार्ने प्रतिबद्धता जनाए विचाराधिन प्रस्तावलाई टुंगो लगाउनका लागि संसद अवरोध नगर्ने सर्त ओलीको छ । प्रधानमन्त्री दाहाललाई ओलीले यो सर्त सुनाईसकेका छन् ।
सत्तारुढ दलहरुपनि संविधान संशोधन प्रस्तावलाई सके पारित गर्ने नसके प्रक्रियाबाट टुंगो लगाउनुपर्ने पक्षमा नै छन् । तर मधेसी मोर्चाले संशोधन प्रस्ताव पारित हुने सुनिश्चिता सरकारसंग खोजिरहेको छ । पारित भएपछि मात्र चुनावमा जाने माहौल बन्ने मोर्चाको धारणा छ । अध्यक्ष ओलीले प्रतिवेदनमा छ महिनाको सरकारको कामकारवाहीको आलोचना गरेका छन् ।
राजनीतिक अस्थिरता निम्त्यिाउने, मुलुकलाई परनिर्भर बनाउने, बाह्य शक्तिकेन्द्रहरुको चलखेल बढाउने र उपलब्धीहरु उल्टाउने प्रयास स्वरुप आफ्नो सरकार परिवर्तन गर्न खोजिएको यसअघिको विष्लेषणलाई छ महिनाको दाहाल सरकारको कार्यशैलीले पुष्टी गरेको ओलीले उल्लेख गरेका छन् ।
उनले चुनावी प्रक्रियाका लागि सक्रिय रुपमा लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । ‘नेपाली जनताको लामो संघर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्बद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेला नेपाल राष्ट्र र नेकपा एमालेको ऐतिहासिक कार्यभार हो’ ओलीको प्रतिवदेनमा छ । आउँदो फागुन २१ बाट सुरु हुने मेची महाकाली अभियानलाई सफल पार्न पनि ओलीले आह्वान गरे ।
मैनाली र शेर्पालाई कारवाहीको माग
बैठकको सुरुमै अध्यक्ष ओलीले राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्दै आफ्नो प्रतिवेदनका प्रमुख अशं पेश गरे । त्यसपछि बैठकको बहस मोडियो केन्द्रिय सदस्य राधाकृष्ण मैनाली र सांसद कृपासुर शेर्पाको बिषयमाथि । सुरुमा बैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राईले समय मागे । उनले आफूसंग एक महिलाको नाम जोडेर भोजपुरकै सांसद कृपासुर शेर्पाले षड्यन्त्र गरिरहेको भन्दै कारवाहीको माग गरे ।
सञ्चारमन्त्री भएका बेला युवासंघमा आबद्ध एक महिलाले आफूलाई दु:ख दिन खोजेको र त्यो सबै काम सांसद शेर्पाको योजनाअनुसार भएको राईको दाबी थियो । ‘पार्टी पार्टीले यो बिषयमा छानविन गरेर कि मेरो दोष पत्ता लगाइदिओस् पृुष्टी भयो भने म कारवाही भोग्न तयार छु’ राईले बैठकमा भने,‘यदी होइन भने षड्यन्त्र स्वरुप यो काम गर्न लागउने कृपासुर शेर्पामाथि कारवाही होस् ।’
राई मन्त्री भएकाले बेला ती महिलाले एसएमएस पठाउने र विवाहका लागि बार्गेनिङ गर्ने गरेको यसअघि सार्वजनिक भएको थियो । यो प्रकरणको छानविन र सम्बन्धि दोषिलाई कारवाहीका लागि राईले यसअघि नै पार्टीको अनुशासन आयोगलाई समेत पत्र पठाईसकेका छन् । राई र शेर्पा दुबै भोजपुरबाट निर्वाचित सांसद हुन् । दुबै केपी ओली निकट मानिन्छन् ।
रार्इृले आफ्नो भनाई सकेपछि बरिष्ठ नेता माधवकुमार नेपालले मेरो पनि केही भन्नुछ भन्दै समय मागे । त्यसपछि उनले राधाकृष्ण मैनालीले आफूबारे गलत कुरा बाहिर ल्याएकाले उनलाई कारवाही गर्नुपर्ने माग गरे । मैनालीको हालै सार्वजनिक ‘नलेखिएको इतिहास’ नामक संस्मरणात्मक किताबमा उल्लेखित प्रसंगबारे नेपालले आपत्ति जनाएका हुन् ।
मैनालीले पुस्तकमा २०४६ सालको आन्दोलनकै बेलामा भारतबाट हतियार ल्याएर भए पनि राजतन्त्र फाल्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा राखेको उल्लेख छ । उक्त प्रस्ताव राख्ने वित्तिकै तत्कालिन नेता मदन भण्डारीले त्यस्तो प्रस्तावप्रति माफी माग्दै नेपाललाई फिर्ता लिन लगाएको प्रसंग पुस्तकमा छ । त्यस्तो प्रस्ताव राखेको भन्ने कुरा नै झुटो कुरा पुस्तकमा राखेर मैनालीले बद्नाम गर्न खोजकोले कारवाही गर्नुपर्ने प्रस्ताव नेपालको थियो ।
पार्टी र एमालेका नेताहरुलाई गलत ढंगले मात्र चित्रित गर्दै आफू मात्र असल देखाउन खोजेको भन्दै उनी कारवाहीको दायरामा पर्नुपर्ने नेपालको धारणा थियो । मैनालीलाई कारवाही गर्नुपर्ने नेपालको प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरुले सहमति जनाएका छन् । यो बिषयलाई जारी बैठकले विधिवत रुपमा ढुंगो लगाउने भएको छ । नेपालले मैनालीको प्रसंग उठाएपछि अध्यक्ष ओलीले पनि पुस्तकम उल्लेखित कुराहरु भ्रमपूर्ण भएको बताए ।
आफ्नै बारेमा पनि मैनालीले गलत कुराहरु लेखेको अध्यक्ष ओलीले जानकारी दिए । उनले मैनालीलाई स्थायी समिति सदस्यमा ल्याउने प्रतिबद्धता आफूले कैहिल्यै नगरेको पनि स्पष्टीकरण दिए । स्थायी समितिमा नलगेका कारण आफ्नो कुण्ठा मैनालीले पुस्तकमार्फत् पोखेको ओलीले बताए ।
मैनाली झापा आन्दोलनका नेता हुन् । उनलाई पार्टी नीति विपरित अभिव्यक्ति दिएपछि पार्टीले निष्कासन गरेको थियो र उनी राजा ज्ञानेन्द्रको शाही सरकारमा मन्त्री बन्न गएका थिए । राजतन्त्र समाप्त भएपछि माओवादी प्रवेश गरेका मैनाली त्यसपछि पुन: एमाले फर्किएका हुन् । फर्केपछि उनलाई एमालेले केन्द्रिय सदस्यमा मनोनयन गरेको थियो ।
No comments:
Post a Comment