Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
धेरै वर्ष अगाडि, लन्डनको नेपाली दूतावासमा एक महिला बरोबर आउने गर्थिन् । उनको नाम थियो, मोइरा ब्राउन । सय वर्षभन्दा अगाडिको प्रसंग हो, यो । इतिहासकार सुबोध राणा लेख्छन्, ‘ती मोइरा आफू जंगबहादुरको सन्तान भएको दाबी गर्थिन् । दूतावासले बोलाउने रात्रिभोजमा ती महिला प्राय: नियमित पाहुना हुन्थिन् ।’
के उनी वास्तवमै जंगबहादुरकी सन्तान थिइन् त ? के उनलाई लउरा बेलसँग जोडेर हेर्न मिल्छ ? अनि यी लउरा बेल को हुन् त ? नेपाली इतिहासमा जंगबहादुरसँग जोडिएर आउने नाम हो यो । यिनीबारे कम लेखिएको छ । अथवा चर्चा भए पनि त्यो सुस्त मात्र गरिन्छ ।
सन् १८५० मा जंगबहादुर बेलायत गएका थिए । त्यसबेला उनको यात्रा बेलायतीहरूका लागि सनसनी सावित भएको थियो । उनी सबैका लागि आकर्षण र रहस्य सावित भएका थिए । त्यति बेलाका लगभग सबै मिडियाले जंगबहादुरलाई ठूलो महत्त्व दिएर समाचार छापेका थिए । उनीहरूका लागि यो ठूलै घटना थियो । त्यसलाई नै स्रोत बनाएर अहिलेसम्म पनि उत्तिकै लेख रचना आइरहेका छन् ।
जंगबहादुरको यात्रालाई लिएर लेख्ने बेलायती विद्वानमा पर्छन्, जोन ह्वेल्पटन । ‘जंगबहादुर इन युरोप’ उनको चर्चित पुस्तक हो । यसको अहिले नयाँ संस्करण आउदैछ । यसैका लागि पछिल्लो सातातिर ह्वेल्पटन काठमाडौंमा थिए । उनले यलमाया केन्द्रमा एक कार्यक्रम पनि राखेका थिए । त्यस कार्यक्रममा उनले आफ्नो पुस्तकबारे केही बोलिसकेपछि श्रोताका केही प्रश्न पनि सुन्न चाहे । त्यति बेला धेरैको प्रश्न तिनै लउरा बेलबारे थियो । के जंगबहादुर वास्तवमै लउरा बेलको प्रेममा फँसेका थिए त ? के यो घटना वास्तवमै साँचो पनि हो त ? अनि जंगबहादुरले उनलाई दिएको महँगा उपहारको चर्चा पनि उत्तिकै साँचो हो त ?
यी सबै प्रश्न सायद ह्वेल्पटनले अपेक्षा गरेका थिए, त्यसैले उत्तर दिँदा मुस्कुराउन बिर्सेनन् । उनले भनेका थिए, ‘जंगबहादुरको लउरा प्रेम साँचो हो । हामीले जंगबहादुरको महिलाप्रतिको आकर्षणलाई लिएर नेपालमै धेरै सुनेका छौं । त्यसैले लउरा बेलसँगको उनको सम्बन्ध पनि यो साँचो हुने आधार धेरै छन् । तर काठमाडौं र विदेशमै पनि जति त्यसबारे चर्चा गरिन्छ, त्यो सबै सत्य नहुन सक्छ ।’
इतिहासमा सामान्य रूचि हुनेले पनि के सुनेका छन् भने जंगबहादुरले लउरा बेलसँग एक रात बिताउन त्यति बेला नै ३ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए । त्यो वास्तवमै ठूलो रकम थियो । अहिले त्यति रकमको हिसाब गर्दा पनि हाम्रो अरबौं पर्न आउँछ । कोही महिलाका लागि एक रातका लागि खर्चेको त्यो नै अहिलेसम्मकै सबैभन्दा बढी रकम हो भनेर पनि लेखिएको धेरै पाइन्छ । त्यसबारे ह्वेल्पटनको भनाइ थियो, ‘सायद जंगबहादुरले एकैपल्ट त्यति धेरै रकम लउरा बेलका लागि खर्चेका थिएनन् । लामो समयमा उनले एकपछि अर्को महँगो उपहारमा त्यो रकम खर्च गरेको हुनुपर्छ ।’
‘यो वास्तवमै ठूलो रकम हो र अहिले त्यसबारे चर्चा गर्दा अहिले विश्वास पनि हुन्न,’ उनी मान्छन् । ह्वेल्पटनले लउरा बेलबारे बोलेका थिए । उनका अनुसार आम चर्चामा आएजस्तै सायद लउरा बेल माथिल्लो वर्गकी नगरबधु थिइनन् । उनी त्यति बेलाको लन्डनको उच्च धनाढ्य वर्गको वरिपरि देखिने आइरिस मूलकी महिला थिइन् ।
जंगबहादुरले लउरा बेललाई भेट्दा उनी किशोर उमेरमै थिइन् । सबैले मानेको एउटा तथ्य के हो भने उनी असाध्यै सुन्दर थिइन्, यसमा कुनै शंका छैन । बेलायत पुगेका पहिलो नेपाली मानिएका मोतीलाल सिंहले पनि लउरा बेलबारे लामै चर्चा गरेका छन् । यसले पनि जंगबहादुर र लउरा बेलबीचको सम्बन्धबारे निश्चित हुन सकिन्छ । पछिल्लो समय मोतीलाल सिंहको प्रसंगबारे पनि चर्चा चलिरहेका हुँदा लउर बेलबारे पनि धेरेको कौतुहलता बढेको हो ।
मोतीलालले सन् १८५० मै जंगबहादुरको बेलायत यात्राबारे लन्डनबाट छापिने ‘न्यु मन्थली म्यागाजिन’ मा एउटा आलेख लेखेका थिए र त्यसको शीर्षक थियो, ‘लन्डनमा नेपालीहरूको केही विवरण’ । मोतीलाल सेन्ट पउल चर्चको बाटो सफा गर्ने कुचीकार थिए । बेलायत भ्रमणका क्रममा जंगबहादुर र उनको टोली लन्डनमा एउटा ठूलो र भब्य रात्रिभोजमा सामेल भएका थिए ।
त्यस रात्रिभोजलाई सम्झेर मोतीलालले लेखेका छन्, ‘जंगबहादुर र उनका भाइहरू फूलजस्ता गाला भएका महिला नजिकै आएर घेरिँदा आनन्द मान्छन् । ती महिलामध्ये एउटा महिला कामदेवकी छोरीजस्तै थिइन् र सबैको आकर्षण थिइन् । हामीहरूले दोभासेलाई उनी को होलिन् भनेर सोध्यौं । आफू भर्खर मात्र बेलायतबाट फर्केको हुनाले दोभासेले तिनलाई चिन्न सकेनन् । त्यसैले म सोधपुछका लागि गएँ । मैले उनको नाम लउरा बेल भएको पत्ता लगाएँ । यसबारे जंगबहादुरलाई बताएपछि उनले हँसिलो अनुहार बनाए र भने, ती महिलाको नाम टाढाको मन्दिरमा बज्ने सुनौलो घन्टीको आवाज जस्तो मधुर र कर्णप्रिय हुनुपर्छ । त्यसपछि जंगबहादुरले खुसीपूर्वक उठ्दै आफ्नो हातमा भएको नीलो र सिन्दुरे किनारा भएको रुमाल त्यो गोरीतर्फ फर्काएर हल्लाए । ती परीले पनि प्वाँख जडित पङ्खा हल्लाइन् । अनि प्रशन्नताको भाव र स्वीकृतिको अभिव्यक्ति स्वरूप आफ्नो टाउको पनि हल्लाइन् । यसलाई हामीले एउटा सुखद अनुभूति र महामहिमप्रतिको शुभ संकेतका रूपमा लिन्छौं । जंगबहादुरले दोभासेलाई आफू पनि निकै प्रफुल्ल भएको घोषणा गर्छन् । यो सुनेर दोभासे अंग्रेजी लवजमा हाँस्दै अब ठूलो थैली खोलेर उदार हातहरू धन छर्न मन बनाइराख्नु भने । हामी लउरा बेललाई पटक–पटक सलाम गरेर आफ्नो वासस्थानतर्फ जान्छौं ।’
यस्तै एउटा फरक प्रसंगमा पनि मोतीलाले लउरा बेलबारे चर्चा गरेका छन् । उनले लेखेका छन्, ‘दुई सेतो घोडाले तानेको एउटा होचो बग्गी हाम्रो अगाडिबाट ग्रुजिन्छ । कमलको फूलजस्ती महिलाले त्यो बग्गी चलाएकी छन् । उनी अगाडि बढ्दै जाँदा पर्दाको एउटा छेउ हावाले उडाएको थियो । यस्तोमा लउरा बेलको मायालु अनुहार हाम्रो आँखामा पर्छ । पहिलेभन्दा अझ बढी मीठो मुस्कानसहित उनी जंगबहादुरतिर हेर्छिन् ।’
जंगबहादुरले तीन महिना जति बेलायतमा बिताए, त्यसमध्ये अधिकांश समय लन्डनमै रहे । त्यसबीच जंगबहादुरको लउरा बेलप्रतिको माया अझ बढ्दै गयो । लेखक सुबोध राणाले थपेका छन्, ‘जंगबहादुर लन्डनमै अझ बढी समय बिताउन चाहन्थे । तर यता नेपालमा उनका लागि स्थिति त्यसरी बस्नु अनुकूल थिएन । जंगबहादुरलाई नेपाल फर्कन उनका भाइहरूले मनाउनुपरेको थियो ।’ यसरी एउटा प्रेमकथाको अन्त्य भयो । तर अन्त्य भएका छैनन् यसलाई लिएर गरिने प्रश्नहरू ।
No comments:
Post a Comment