नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । तीमध्ये ९ जनाको मृत्युपछि मात्र संक्रमण पुष्टि भएको छ । दायरा बढाएर समयमै परीक्षण नगर्दा, र्यापिड टेस्टको भरमा जोखिमपूर्ण निर्णय लिँदा र लिइएको नमुनाको नतिजा ढिलो आउँदा पहिला बिरामीको मृत्यु हुने र पछि मात्र संक्रमण पुष्टि हुने समस्या देखिइरहेको छ ।
सुर्खेत, हाँसेगाउँका २० वर्षीय युवकको बिहीबार बिहान मृत्यु भयो । तर उनमा संक्रमणको पुष्टि भने शुक्रबार मात्र भयो । भारतबाट जेठ ८ गते फर्किइ सुर्खेतको जनता माविको क्वारेन्टिनमा बसेका ती युवक बुधबार आरडीटी परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि क्वारेन्टिन बस्न घर पठाइएको थियो । घरमा छुट्टै कोठा नभएकाले नजिकैको सामुदायिक वनको भवनमा बसेका थिए ।
सुर्खेतका युवक मात्र होइन, संक्रमणका कारण मृत्यु हुने ११ जनामध्ये अरू ९ जनामा पनि मृत्युपछि मात्र भाइरस पुष्टि भएको छ । पहिलो मृत्यु हुने सिन्धुपाल्चोककी सुत्केरी महिला थिइन्, जसको धुलिखेल अस्पतालमा मृत्युछि मात्र संक्रमण पुष्टि भएको थियो । यसैगरी बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुरामा एक-एकजनाको मृत्यु भएपछि मात्र संक्रमण पुष्टि गरिएको थियो । यस्तै प्रदेश ५ का पाल्पा, गुल्मी, अर्घाखाँची, बाँकेको नरैनापुरमा गरी कोरोना संक्रमणबाट मृत्यु हुने ४ मध्ये अर्घाखाँचीका एक शिक्षकबाहेक तीनै जनाको मृत्युपछि संक्रमण पुष्टि भएको हो । मृत्युपछि नमुना संकलन र परीक्षणमा लामो समय लगाउँदा परिवार र आफन्तलाइ समेत पीडामाथि पीडा भइरहेको छ।
रुघाखोकी, थकाइ लाग्नु, स्वाद थाहा नपाउनु, ग्यास्ट्रिक, पेट दुख्नु लगायत साधारण लक्षण भएकाहरुलाइ घर पठाउने गरिएको छ । त्यसैगरी पीसीआर परीक्षणको दायरा नबढाइएको र परीक्षणका लागि लिइएको नतिजा ढिलो गरी आउने भएकाले पनि बिरामीको मृत्युपछि मात्रै कोरोना पुष्टि हुने गरेको छ । शंकास्पद बिरामीको हेरचाह र परीक्षणमा भइरहेको व्यवस्थापकीय कमजोरीका कारण पनि ज्यानकै जोखिम भइरहेको छ । कतिपय जोखिमपूर्ण अवस्थाका बिरामीको छिटो परीक्षण गरी उपचारको निर्क्योल गर्ने प्रणाली नहुँदा पनि कतिपयले अाफ्नो बिमार थाहै नपाइ मृत्यु वरण गर्नुपरिरहेको छ ।
परीक्षणको नतिजा नै नआई एकपछि अर्को बिरामीको मृत्यु हुनुलाई सामान्य मान्न सकिँदैन । आरडीटी परीक्षणकै भरमा घर पठाउने प्रवृत्ति अन्त्य गरी पीसीअार परीक्षणको दायरा बढाउने र विशेष अवस्थाका बिरामीको चाँडो नतिजा आउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
- जीवित हुँदा परीक्षण गर्नै मुस्किल, मृत्युपछि संक्रमण पुष्टि -
No comments:
Post a Comment