Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौ – बेलायती नागरिक स्कट म्यासनले दुर्लभ गोब्रे गिद्ध (इजिप्सियन भल्चर) प्रयोग गर्दै झन्डै दशकदेखि पोखरामा ‘प्याराहकिङ’ सञ्चालन गर्दै आए पनि सम्बन्धित निकायले नियन्त्रणमा ध्यान दिएका छैनन् । गोब्रे गिद्ध नेपालमा संकटापन्न सूचीमा छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले पनि यसलाई त्यही सूचीमा राखेको छ ।
कुनै सिकारी चरासँगै आकाशमा प्याराग्लाइडिङ गर्नुलाई ‘प्याराहकिङ’ भनिन्छ । स्कटले पर्यटकका लागि थप साहसिक मनोरञ्जन दिन भन्दै पोखराको खपांैदीमा रिसोर्ट नै खोलेर प्याराहकिङ सञ्चालन गर्दै आएका छन् । उनी प्याराग्लाइडिङका पाइलटसमेत हुन् ।
चरा संरक्षणमा काम गर्ने संस्था र चराविद्हरूले यसलाई अवैध भनेका छन् । फेवातालको सिरान खपौंदीमा मायादेवी भिलेज रिसोर्टमा स्कटले प्याराहकिङका लागि आवश्यक पर्ने गिद्ध र बाजसमेत पालेका छन् । यो पनि अवैध हो । दस वर्षदेखि स्कटले गिद्ध पालेर ‘प्याराहकिङ’ सञ्चालन गरेको पोखराभरि चर्चा भए पनि सम्बन्धित अधिकारी जिल्ला वन अधिकृत (डीएफओ) केदार बरालले गिद्ध प्रयोगबारे सरासर ढाँटे । ‘हो र ? अहिलेसम्म मैले सुनेकै थिइनँ,’ बरालले कान्तिपुरसित भने, ‘बुझेर कानुनी प्रक्रियामा ल्याउँछु ।’
बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौड्यालले त्यसरी गिद्ध, बाजलगायत चरा प्रयोग गर्नु अवैध भएको बताए । उनले भने, ‘वनले किन नियन्त्रण गरेन, बुझेर बताउँछु ।’
वरिष्ठ चराविद् डा. हेमसागर बरालले स्कटले आफूले चरा संरक्षणमा डोनेसन गर्दै आएको भनी गिद्ध, बाजलगायत चरा दुरुपयोग गरिरहेको बताए । ‘टुहुरा र घाइते चरालाई उपचार गर्ने बहानामा उनले व्यापार गरिरहेका छन्,’ बरालले भने, ‘सम्बन्धित निकायले निगरानी नगर्दा यस्तो अवैध गतिविधि मौलाएको छ ।’
गिद्ध संरक्षणमा काम गर्ने नेपाल पन्छी संरक्षण संघ (बीसीएन) का ‘गिद्ध संरक्षण कार्यक्रम’ अधिकृत कृष्णप्रसाद भुसालले स्कटले गिद्धको उद्धार र उपचारमा मात्र आफू सक्रिय भएको दाबी गर्ने गरेको उल्लेख गरे । ‘उपचारपछि सम्बन्धित निकायलाई बुझाउनुपर्ने हो,’ भुसालले भने, ‘व्यवसायमा गिद्ध प्रयोग गर्नु गलत हो ।’ पटक–पटक कोसिस गर्दा पनि स्कटले कुरा गर्न चाहेनन् । बर्सेनि भिसा थप्दै उनले यो व्यवसाय सञ्चालन गर्दै आएका छन् । तालिम प्राप्त चरालाई प्याराग्लाइडिङसँगै उडाउनुका साथै यात्रुको हातमा पनि बाँधेर उडाइन्छ । सराङकोटबाट प्याराग्लाइडिङको ‘टेक अफ’ सँगै गिद्ध र बाजले पनि वेग हान्ने गर्छन् । पाइलटको इसारामा गिद्ध आकाशमा उडछन् । त्यसैमा यात्रुले आनन्द लिने गरेका छन् । तालिम दिइएकाले इसाराकै आधारमा यात्रुको हातमा आएर बस्ने, उड्ने र साथमा भएको मासुलगायत खानेकुरा खान्छन् । स्कटले खपौंदीस्थित रिसोर्टमा अलग्गै घर बनाएर दुइटा गोब्रे गिद्ध (इजिप्सियन भल्चर) र तीनवटा बाजसमेत पालेका छन् । तिनलाई उड्ने तालिम पनि दिइसकिएको छ ।
ब्लु स्काई र फ्लाई नेपाल प्याराग्लाइडिङ कम्पनीअन्तर्गत रहेर उडाइन्छ । ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीका सञ्चालक नारायण पराजुलीले आफूहरूले स्कटलाई ‘प्याराग्लाइडिङ मात्र उपलब्ध गराएको र गिद्ध उसैको भएको’ बताए । ‘प्याराग्लाइडिङसँगै चरा उडाउने काम वैध/अवैध के हो, मलाई थाहा छैन,’ उनले भने, ‘हामीसँग त्यस्ता चरा पनि छैनन्, प्याराहकिङको बुकिङ पनि गर्दैनौं । प्याराहकिङको पैसा स्कटले नै लिने हो, कानुनी कुरा पनि उनैको हो ।’
स्कटले दुई वर्षअघिसम्म फ्रन्टियर्स प्याराग्लाइडिङमार्फत प्याराहकिङ सञ्चालन गर्ने गरेका थिए । आधा घण्टा प्याराहकिङ गरेको २२ हजार ५ सय र भिडियो तथा तस्बिर खिचेको थप २५ सय गरी २५ हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।
स्कटले आफ्नो वेबसाइट प्याराहकिङ डट कममा २ सय ७५ देखि २२ सय २० अमेरिकी डलरमा १२ दिनसम्मको लजिङ, फुडिङ र प्याराहकिङ प्याकेज सञ्चालन गर्ने उल्लेख गरेका छन् । उक्त वेबसाइटमा उनले हिमालयन सिकारी चरा उद्धार आयोजनाअन्तर्गत उद्धार गरिएका गिद्धलाई तालिम दिएर प्याराहकिङमा प्रयोग गर्ने गरिएको उल्लेख गरेका छन् । समाचारका लागि प्रतिक्रिया लिन खोज्दा उनले वेबसाइट नै बन्द गरेका छन् ।
केही विदेशी व्यक्तिसँग मिलेर उनले सन् २००४ देखि खपौंदीमा मायादेवी भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका हुन् । प्याराहकिङको मुख्य सिजन असोजदेखि मंसिरसम्म हो । अघिपछि भने फाट्टफुट्ट मात्र सञ्चालन हुने गरेको छ । बेलायतमा चरासम्बन्धी काम गरेका स्कट सन् २००१ मा पहिलो पटक नेपाल आएका थिए ।
No comments:
Post a Comment