Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अस्सी किलोमिटर लामो जाजरकोट–ब्युलीढंगा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष बितेको छ । उक्त सडक निर्माणका लागि २५ करोड खर्च भइसकेको छ । जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गको ४० किलोमिटर पनि ट्रयाक खुल्न सकेको छैन । ९० किलोमिटर दूरीको जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ ।
१२ वर्षअघि निर्माण सुरु उक्त सडकमा ३० करोड खर्च भइसकेको छ। त्यस्तै १ सय ४० किलोमिटर लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको निर्माण ३० किमिमा सीमित छ।
२० करोड खर्च भइसकेको बारेकोट हुँदै जुम्ला जाने सडकको निर्माण ठप्प छ।जाजरकोट–जुम्ला जोड्ने यी तीन वटा रणनीतिक मार्गको निर्माण कार्य सुस्त देखिएको छ। बजेट अभाव, सम्बन्धित निकायको लापरबाहीलगायतका कारण रणनीतिक सडक निर्माण कार्य सुस्त भएको हो। जुम्ला जोड्ने रणनीति सडक मात्र हैन, जाजरकोट–डोल्पा अर्थात् भेरी करिडोर र मध्यपहाडी लोकमार्गको निर्माण पनि सुस्त नै छ। बजेट अभावमा जाजरकोट–जुम्ला जोड्ने तीन वटा रणनीतिक मार्गको निर्माण अलपत्र परेको छ। उक्त मार्गको ट्रयाक ओपन कार्य पूरा गर्नेतर्फ सम्बिन्धत निकायले बेवास्ता गरी ढिलासुस्ती गरिरहेका छन्।जुम्ला जोड्ने रणनीतिक मार्गहरू प्रदेश सरकार मातहत हस्तान्तरण हुने भएकाले निर्माणमा अन्योलता छाएको सडक डिभिजन चौरजहारीका इन्जिनियर कुशल भुसालले बताए। यी सडकको अघिल्ला वर्षहरूमा जेजति निर्माण भए पनि अब बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ। ‘रणनीतिक सडकमा के कति बजेट छ’ भन्ने जानकारी नभएको र कार्यालयमा उक्त सडक निर्माणका लागि बजेट नआएको इन्जिनियर भुसालले जनाए। चौरजहारी सडक डिभिजन कार्यालयमा भेरी करिडोर, लुम्बिनी–रारा सडक र अन्य केही साना सडकका लागि बजेट आएको उनले बताए।भेरी करीडोरको स्तरोन्नतिको २२ करोड र लुम्बिनी–रारा जोड्ने दुई सडकको सर्भे डिजाइन लागि एक/एक करोड बजेट आएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार भेरी करिडोर सडकको बहुवर्षीय ठेक्काका लागि सम्बन्धित निकायसँग सहमति लिने कार्य भइरहेको छ। सडक डिभिजन कार्यालय चौरजहारीअन्तर्गत जुम्ला जोड्ने ३ सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक निर्माणको जिम्मा थियो। संघीय संरचनासँगै केही सडक प्रदेश र केही सडक स्थानीय तहअन्तर्गत सारिएको छ। जसका कारण सडक लथालिंग भई निर्माण सुस्त बन्न पुगेका हुन्। कुनै सडकमा मनोमानी सर्भे तथा रेखांकन, कुनै सडकमा कडा चट्टान कटिङ नगर्दा र कुनै सडकमा नाली, तारजाली, वाल, ढल निकास, ग्राभेललगायत स्तरोन्नतिको कार्य नहुँदा अलपत्र परेका हुन्। कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म कुनै पनि पहल चालेको पाइएको छैन।जुम्ला जोड्ने रणनीतिक मार्गको चौडा बनाउने, नाली, तारजाली, वाल, ढल निकास, ग्राभेललगायत स्तरोन्नतिको कार्य त कता कता ट्रयाक ओपन नै अलपत्र परेको अवस्था छ। त्यस्तै तीन वटै रणनीतिक राजमार्गको ग्रेडिङ तथा घुम्तीको स्पेस नमिल्दा र विभिन्न खोलामा पुल नहुँदा थप अलपत्र परेको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए। ट्रयाक ओपनमै करोडौं खर्चेका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको प्रमुख रावलको भनाइ छ। ‘सडकमा बस गुड्ने त परैको कुरा, ट्याक्टर र जिपसमेत गुड्न सक्दैनन्,’ उनले भने, ‘गाडी गुड्ने खालको सडकमा निर्माण हुन नसक्दा समस्या भएको छ।’पाँचकाटिया–जुम्ला सडकको कम चौडाइ, नाली तथा ग्याबिङ नहुनु, अप्ठयारो रेखांकन, छोटा घुम्तीलगायतका कारण यातायात सञ्चालन हुन सकेको छैन। सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखांकन गाडी चढ्नै नसक्ने गरी निर्माण भएको रावलको भनाइ छ।
तीन किमि उक्त खण्डमा १३ घुम्ती भएको रावल बताउँछन्। ‘ती घुम्तीमा मोटरसाइकलकै मोड पुग्दैन,’ उनले भने, ‘खलंगा–पाँचकाटिया सडकको राङ्सी खण्डमा रेखांकन परिवर्तन गर्ने भनेको ९ वर्ष बितेछ। तर सम्बन्धित निकाय टेरपुच्छर नलगाएको पाइयो।’ उनका अनुसार करोडौं लगानी गरेको सडकको उक्त खण्डमा रेखांकन परिवर्तन नगरे बस यातायात सञ्चालनको सम्भावना छैन। उचित रेखांकनबिनै करोडौं बजेट खन्याएर सडक निर्माण अलपत्र पार्ने प्रवृत्ति देखिएको प्रमुख रावल बताउँछन्। जाजरकोटमा मात्र करोडौं बजेट खर्चेर निर्माण थालिएका ठूला पाँचसहित करिब पाँच दर्जन सडक अलपत्र छन्। जिल्लाभरको सडक सञ्जाल र छिमेकी जिल्ला जोड्ने उद्देश्यले ती सडक निर्माणको योजना बुनिएको हो।यसैगरी मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको ट्रयाक खोल्ने कार्य सम्पन्न हुन सकेको छैन। निर्माण सुरु भएको १० वर्ष बित्दा पनि सम्बन्धित पक्षको लापरबाहीले उक्त खण्डको ट्रयाक खोल्ने कार्य पूरा हुन नसकेको हो। एकैसाथ निर्माण सुरु भएका लोकमार्गको रुकुम र दैलेख खण्डमा भने ३ वर्षअघिदेखि यातायात सेवा सञ्चालनमा आएको छ। तर, लोकमार्गको जाजरकोट खण्ड सडक आयोजना र निर्माण कम्पनीको लापरबाहीले निर्माण सम्पन्न नभई यातायात सञ्चालन हुन सकेका छैनन्। कुदुदेखि दैलेखको सुयाँडासम्मको ८२ किलोमिटर जाजरकोट खण्डअन्तर्गत कार्कीगाउँ र झाप्राको सिमानामा रहेको मन्ताभीर, कालढुंगा थलहबजार, दसेराको चुवादेउली भीर, दसेराको फाल्मा र साल्माबीचको भुसखोलालगायत स्थानमा निर्माण कार्य अलपत्र परेको छ। तर पछिल्लो समय लोकमार्ग स्तरोन्नतिको काम अगाडि बढेको पाइएको छ।
आयोजना ट्रयाक खोलिएको ८ वर्षपछि स्तरोन्नति थालिएको हो। पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदुदेखि कार्कीगाउँसम्मको ३५ किलोमिटर सडक पहिलो चरणमा पिचको काम सुरु गरेको जनाएको छ। एक अर्बको लागतमा शर्मा सिंह एन्ड ब्रदर्स जेवी काठमाडौंले पिच गर्न लागेको व्यवसायी विश्वास उप्रेतीले बताए।त्यस्तै जाजरकोट–डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडकको जिरो प्वाइट पासागाडदेखि नै स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन। एक सय १८ किलोमिटर जाजरकोट–डोल्पाको पहिलो चरणको सडकको ट्रयाक खोल्ने कार्य मात्र सम्पन्न भएको छ। यस सडक खण्डको ट्रयाक खोल्ने निर्माण कार्य पूरा भए पनि दर्जन बढी खोलामा पुलको निर्माण तथा स्तरोन्नति नहुँदा समस्या भएको स्थानीय नेत्रबहादुर सिंहले बताए।
No comments:
Post a Comment