एमालेले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने । - newsallabc.com

Breaking

Thursday, March 2, 2017

एमालेले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताउनुभएको छ । 




एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय अभियानबारे आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा ल्याउन सो प्रस्ताव टेबल गर्न मात्र दिन प्रधानमन्त्रीको आग्रहका आधारमा प्रस्तुत गर्ने दिन मौन विरोध गरिएको स्मरण गराउनुभयो । 

उहाँले राष्ट्रिय एकताविरुद्धको कपटसँग संशोधन सम्बन्धित रहेको दाबी गर्दै प्रस्ताव पारित हुन नदिइने उल्लेख गर्दै भन्नुभयो, “तराई र पहाड पूर्णरुपमा अलग गर्ने उद्देश्य यसमा छ, यो बिल्कुल हुन दिइने छैन ।” पारित नहुँदा निर्वाचनमा नजाने वा पारित हुँदा पनि नमान्ने हो भने किन छलफलमा ल्याउनुप¥यो ?” 

एमाले मधेस विरोधी छ भनेर जनतामा भ्रम फैलाइएको गुनासो गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले सम्भवतः अहिलेसम्मकै बढी बजेट मधेसमा विनियोजन गरेको दाबी गर्नुथियो । 

उहाँले भन्नुभयो, “संविधान संशोधन नहुँदा जनता अधिकारविहीन हुन्छन् भनेर सिकाइएको छ तर जनताको अधिकारसँग यो संशोधनको कुनै सम्बन्ध छैन । उल्टै स्थानीय तहको अधिकार कटौतीका प्रस्ताव ल्याइएको छ ।” 

पृथ्वीनारायण शाहले गरेको राष्ट्रिय एकता अभियान जस्तै राष्ट्रिय जागरणका निम्ति अभियान सुरु गर्न लागिएकाले यसमा सबैको सहभागिताका लागि उहाँले आह्वान गर्नुभयो । 

अध्यक्ष ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अभियान बिथोल्ने प्रकारको अभिव्यक्ति दिएका सन्दर्भमा आपत्ति जनाउँदै सरकारको काम शान्ति सुरक्षा दिनु भएकाले त्यो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

सत्ता पक्षभित्रै कोही निर्वाचन चाहने र कोही हुन नदिने पक्ष रहेको उल्लेख गर्दै उहाँले तराई–मधेस केन्द्रित दलका ११ सांसद मात्र रहेको सन्दर्भमा उनीहरुले जे चाहे त्यो संशोधन हुन नसक्ने जिकिर गर्दै भन्नुभयो, “लोकतन्त्रमा संविधान विपरीतका संशोधन प्रस्ताव ल्याएर अराजकता ल्याउन खोजिएको छ, जुन राष्ट्रिय हित र स्वार्थ विपरीत छ । निर्वाचनमा जाऔँ । लोकतान्त्रिक अभ्यासबाट आउने परिणामलाई सबैले स्वीकार्नुपर्छ, अहिले हामी दन्तबझान गर्दैनौँ, निर्वाचनकै मैदानमा भेटौँला ।” 

महासचिव ईश्वर पोखरेलले संविधानको पक्षमा लाग्न किन जरुरी छ भनेर जनतालाई बताउन र राष्ट्रिय स्वाभिमानमा कतैबाट आँच आउन नदिन यो अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले अभियान समापनको बिन्दुमा पुग्दा राष्ट्रिय जागरण अभिवृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । 

पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अभियान कसैका लागि दुष्मनी साध्न नभई राष्ट्रियताका पक्षमा मित्रता बढाउनका लागि गरिएको बताउनुभयो । 

एमालेका अध्यक्ष र केन्द्रीय नेतासहितको सहभागितामा फागुन २१ गते झापाको काँकडभित्ताबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावको’ नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरिएको छ । 

फागुन १८ गते । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167